कोरोना संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको निधन

धनगढी । कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । कैलालीका स्थायी बासिन्दा मल्लको काठमाडौँमा उपचारका क्रममा निधन भएको उनका भतिजा रुपक मल्लले पुष्टि गरे ।

‘उहाँलाई एक हप्ता पहिले कोरोना संक्रमण देखिएको थियो,’ उनले भने, ‘काठमाडौँमा उपचार गराइरहनु भएको थियो । हिजो राति ११ बजेतिर मृ’त्यु भयो ।’ निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित मल्लको बिहीबार अन्त्येष्टि गरिने बताइएको छ ।

पूर्व राष्ट्रिय पञ्चायतका सदस्य समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रहेका उनी काँग्रेसमा प्रवेश गरेका थिए । तत्कालीन प्रधानमन्त्री समेत रहेका मल्ललाई २०७४ सालमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।

त्यसको करिब दुई वर्षपछि २०७६ सालको कार्तिकमा पदमुक्त गरिएको थियो ।