कतारका नेपाली व्यवसायीद्वारा एक करोडको स्वास्थ्य सामग्री पठाउँदै

काठमाडौँ — कतारस्थित नेपाली व्यवसायीहरुले एक करोड २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री पठाउने भएका छन् । नेपाल बिजेनस एसोसिएसन कतारले भेन्टिलेटर, अक्सिजन र पल्स अक्सिमिटर पठाउन लागेको हो ।

एसोसिएनका अध्यक्ष महेन्द्रप्रसाद चौलागाईंका अनुसार १४ वटा भेन्टिलेटर, ५० वटा अक्सिजन सिलिन्डर, तीन हजार वटा पल्स अक्सिमिटर र ५० वटा नसल क्याननुल पठाउन लागिएको हो । यी सामग्री १० दिनभित्र काठमाडौं पुग्नेछ । अध्यक्ष चौलागाईंले सामग्री स्वास्थ्य मन्त्रालयमार्फत आवश्यकताअनुसार सातै प्रदेशमा पठाइने बताए ।

‘अक्सिजनको अभाव भएर एक मुठी स्वास फेर्न पनि मुस्किल परेको र स्वास्थ्य सामग्रीको अभावमा उचित स्वास्थ्य उपचार पाउन नसकेर अकालमा ज्यान गइरहेकोले कारुणीक दृश्यले हामी विदेशमा शान्तिसँग बस्न सकिरहेको छैन । मातृभूमिमा विपद परेको अवस्थामा कतारका व्यवसायीहरु एकजुट भएका छौं’, उनले भने ।

कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्धजको संरक्षकत्वमा एसोसिएसनले रकम संकलन गरेको हो । एसोसिएसनका महासचिव रमेश भट्टले ३८ जना व्यवसायीले ८ लाखदेखि एक लाख रुपैयाँसम्म सहयोग गरेका छन् । यस अभियानमा राजदूत भारद्धजले एक लाख रुपैयाँ सहयोग गरेका छन् । व्यवसायीहरुले यसअघि पनि ओमानबाट ५६० वटा अक्सिजन पठाउँदा पनि सहयोग गरेका थिए ।

कतारमा क्रियाशील नेपाली संस्थामध्ये नेपाल बिजनेस एसोसिएसनले मात्रै कानुनी मान्यता पाएको छ । कतारमा नेपालीको लगानीमा रेस्टुरेन्ट, मेडिकल, निर्माण कन्ट्रक्सन, ग्यारेज, किराना पसल, श्रमिक आपूर्ति कम्पनीहरु संचालित छन् । कतारमा करिब तीन लाख ५० हजार नेपाली कार्यरत छन् ।