मन्त्रि निवास नछोडेका टोपबहादुर भन्छन् – विस्तारै गरौँला नि,के हतार छ र ?

सर्वोच्च अदालतबाट ६ जेठमा पदमुक्त मन्त्रीहरूले सरकारी सुविधाको आवास अझै ओगटिरहेका छन् । पूर्वमन्त्री रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट, मणि थापा र गौरीशंकर चौधरीले पुल्चोकस्थित मन्त्री आवास पदमुक्त भएको एक सातासम्म पनि ओगटिरहेका हुन् ।

सर्वोच्चले सांसद नभईकन मन्त्रीमा फेरि दोहोरिनु संविधानको मर्मप्रतिकूल रहेको भन्दै कामकाज नगराउन ६ जेठमा अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको आदेशसँगै उनीहरू पदमुक्त भएका थिए ।

पदमुक्त भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट चिट्ठी प्राप्त नभएका र नयाँ मन्त्रीहरू नियुक्त नभएको कारण देखाउँदै पूर्वमन्त्रीहरूले आवास ओगटिरहेका हुन् । ‘मुख्यसचिवबाट पत्र प्राप्त भएको छैन । अहिले सबै पूर्वमन्त्रीले आवास होल्ड गरिरहेका छन्,’ पूर्वमन्त्री बादलको सचिवालयका एक सदस्यले भने । बादलले पनि आवास कहिले छोड्ने भन्ने विषय टुंगो नलागेको ती सदस्यको भनाइ छ ।

पूर्वमन्त्री लेखराज भट्टले आफूले आवास छोडे पनि सामान भने पुल्चोकमै रहेको बताएका छन् । आफ्नो सचिवालयका सहयोगीहरू त्यहाँ बसिरेहको उनले बताए । ‘म धापाखेलस्थित निवासमा सरिसकेँ, सामान भने ल्याउन पाएको छैन । अब केही दिनमा सामान सारेर खाली गर्छु,’ उनले भने ।

यस्तै, पदमुक्त अर्का मन्त्री रायमाझीले भने विस्तारै खाली गर्ने प्रतिक्रिया दिए । ‘अहिले म पुल्चोकमै छु । आवास खाली गर्न के हतार छ र, विस्तारै खाली गरौँला नि,’ उनले भने ।

सामान्यतया मन्त्रीले आफ्नो पद गुम्नेबित्तिकै आवास छोड्नुपर्ने, यदि १५ दिनभित्रसम्म पनि उपयोग गरिरहेको पाइए मुख्यसचिवले आवास खाली गर्न पत्राचार गर्ने प्रचलन हुने पूर्वप्रशासक विमल कोइराला बताउँछन् ।