‘वीरगन्जमा नागरिकता बाँडिएको विषय आधारहीन र असत्य’ – जिल्ला प्रशासन पर्सा

जिल्ला प्रशासन कार्यालय पर्साको नाम जोडेर हालै सामाजिक सञ्जालमा नागरिकता वितरण सम्बन्धी विषयलाई लिएर भएका पोष्ट र आएका समाचारहरु प्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बुधबार प्रेस विज्ञप्ति जारी गरी निषेधाज्ञा अवधिमा ठूलो भिडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको भनी केही वर्ष पुरानो जस्तो देखिने भिडियो फुटेज समेत राखी सामाजिक सञ्जालमा भएका पोष्ट एवं आएका समाचारहरु आधारहीन, असत्य र कपोकल्पित भएको कुरा जानकारी गराएका हुन् ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक अध्यादेश जारी गरेपछि सोमबार पूर्व गृहमन्त्री भीम रावलले २०७६ वैशाख ४ गते लिइएको एउटा भिडियो सामाजिक सञ्चालमा पोष्ट गर्दै वीरगन्जमा नागरिकता वितरण भएको लेखेका थिए । चौतर्फी विरोध भएपछि मंगलबार उनले उक्त भिडियो हटाएका थिए ।