योगेश भट्टराई र गोकर्ण विष्ट फेरि ओलीविरुद्धको मोर्चामा

काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्यहरु योगेश भट्टराई र गोकर्ण विष्टले आफूलाई पुनः पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्धको मोर्चामा उभ्याएका छन्। बुधबार माधवकुमार नेपाल तथा झलनाथ खनाल सहित १५ स्थायी कमिटी सदस्य (दुई पदेन सदस्यसहित) ले जारी गरेको विज्ञप्तिमा उनीहरुको समेत नाम समावेश छ।

पछिल्ला केही दिन उनीहरु दुवै समूहतिर नखुली मौन बसेका थिए। प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई प्रस्ताव गर्दा नेपाल पक्षका अन्य सांसदले हस्ताक्षर गरेको भएता पनि भट्टराईले गरेका थिएनन्। बरु उनले ‘राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन’ भन्दै ट्विटरमा प्रतिक्रिया लेखेका थिए। ‘नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ।

सही गरेँ कि गलत गरेँ, इतिहासको कठोर मूल्यांकनमा खडा छु,’ गत शुक्रबार उनले भनेका थिए। उनको यो निर्णयपछि उनी ओलीतिर खुलेको भन्दै विश्लेषण भएका थिए। राष्ट्रपतिले प्रधानमन्त्रीमा परेका दुवै दाबी अस्वीकार गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दै निर्वाचनको सिफारिस गरेका थिए। त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने बेला पनि भट्टराईले हस्ताक्षर गरेका थिएनन्।

विष्टले पनि हस्ताक्षर गरेका थिएनन्। सर्वोच्चमा नेपाल पक्षका २३ सांसदको मात्रै हस्ताक्षर छ। हस्ताक्षर गर्नेमध्ये ११ जनालाई ओलीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिसकेका छन्। अन्य १२ जनालाई पनि स्पष्टीकरण सोधेका छन्। आज जारी विज्ञप्तिमा पार्टीबाट गरिएको निष्कासनको विरोध जनाइएको छ।

‘हालै पार्टी निर्माणको आरम्भदेखि नै नेतृत्व दिनुभएका वरिष्ठ नेताहरु लगायत पार्टीको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गर्नुभएका महाधिवेशनबाट निर्वाचित पदाधिकारी समेतका नेताहरु एवम् सांसद गरी ११ जनालाई पार्टी सदस्यबाट निष्कासन गरिएको र १२ जनालाई स्पष्टीकरण सोधिएको निरकुंश तानाशाही निर्णय सार्वजनिक गरिएको छ। यस्तो स्वेच्छाचारी निर्णयको हामी घोर भर्त्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

सर्वोच्चमा रिट हाल्नुलाई बाध्यता भनिएको छ। ‘हामी देश र जनताप्रतिको कर्तव्य निर्वाह गर्दै प्रधानमन्त्रीको असंवैधानिक र निरंकुश निर्णयका विरुद्ध अन्य राजनीतिक दलहरुसँग सहकार्य गरी सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्न बाध्य भएका हौं,’ विज्ञप्तिमा भनिएको छ।