हारेका प्रधानमन्त्रीले संसद भवनमा ताला लगाइदिएपछि पाल टाँगेर नयाँ प्रधानमन्त्रीको शपथ

सत्ताको लागि राजनीतिज्ञहरुले मरिहत्ते गर्ने गरेका घटनाहरु हामीले देशमा र विदेशमा भएको देखेका वा सुनेका छौं । सत्ताको नशा यस्तो हुन्छ कि यसको नशा लागेको व्यक्तिले सही र गलतको फैसला समेत गर्न सक्दैन बरु जसरी हुन्छ सत्ता प्राप्त गर्न प्रयास गर्छ ।

यस्तै सत्ताको मोहका कारण निर्वाचनमा पराजित प्रधानमन्त्रीले देशको संसद भवनमा तालाबन्दी गरिएपछि नयाँ निर्वाचित प्रधानमन्त्रीले चउरमा पाल टाँगेर शपथ ग्रहण गर्नुपरेको छ । प्रशान्त महासागरमा रहेको ओसानिया महादेशमा पर्ने टापु देश सामोआमा भएको निर्वाचनमा सत्ताधारी दल पराजित भयो तर प्रधानमन्त्रीले हार स्वीकार गर्न मानेनन् ।

उनले पद छोड्न अस्वीकार गर्दै संसद भवनमा ताला लगाइदिए । समोआले आफ्नो इतिहासमै पहिलोपटक अहिले महिला प्रधानमन्त्री पाएको छ तर आफ्नो हातबाट सत्ता गुमेका कारण असन्तुष्ट प्रधानमन्त्री तुइलापा साइलेले मालिलेगोइले पद छाड्न अस्वीकार गरेका छन् ।

रेडियो न्यूजिल्याण्डका अनुसार संसद भवनमा तालाबन्दी भएपछि नवनिर्वाचित देशकै प्रथम महिला प्रधानमन्त्री नाओमी मताफाले संसद भवन बाहिर पाल टाँडेर शपथ ग्रहण गर्नुपरेको छ ।

यहाँ गएको अप्रिलमा चुनाव भएको थियो । चुनावमा देशमा ४० वर्षदेखि शासन गरिरहेको ह्युमन राइट्स प्रोटेक्सन पार्टीलाई गएको २०२० मा मात्र गठन भएको फास्ट पार्टीले पराजित गरेको थियो । निर्वाचनमा निकै कडा प्रतिस्पर्धा भएको थियो ।

कूल ५१ सिटको लागि भएको निर्वाचनमा एचआरपीपी र फास्ट पार्टी दुवैले २५–२५ सिट जितेका थिए । १ जना उम्मेदवारले निर्दलीय उम्मेदवार भएर चुनाव जितेका थिए । निर्वाचन परिणाम घोषणापछि ती निर्दलीय उम्मेदवारले फास्ट पार्टीलाई समर्थन दिएपछि फास्ट पार्टीको बहुमत भयो । फास्ट पार्टीको बहुमत भएपछि एचआरपीपीले निर्वाचन आयो गुहार्यो र विरोधी पार्टीले निर्वाचनमा १० प्रतिशत महिला कोटाको ठिकसँग पालना नगरेको आरोप लगायो ।

निर्वाचन आयोगले निर्वाचन रद्द गरिदियो । निर्वाचन आयोगले यही २१ मेका दिन अर्को निर्वाचन घोषणा गरेको थियो तर यही बीचमा सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णय उल्ट्याउँदै अप्रिलमा भएको निर्वाचन नै सही भएको फैसला गर्यो । यससँगै देशमा एचआरपीपीको ४० वर्ष लामो शासनको अन्त्य भएको घोषणा भयो । यसले एचआरपीपी धेरै निराश भयो ।

अब एचआरपीपीले सर्वोच्च अदालतको फैसला स्वीकार गर्न मानिरहेको छैन । प्रधानमन्त्री मालिलेगोइले अदालतको फैसला अस्वीकार गर्दै संसद भवनमा तालाबन्दी गरिदिएपछि नवनिर्वाचित प्रधानमन्त्रीले पालमा शपथ ग्रहण गर्नुपरेको छ । प्रधानमन्त्री मालिलेगोइले मात्रै यो देशमा विगत २२ वर्षदेखि शासन गर्दै आएका थिए । यो देश १९६२ मा न्यूजिल्याण्डबाट स्वतन्त्र भएको थियो ।