मलाई थाहा पत्तो नदिइ अक्सिजन सिलिण्डरमा मेरो स्टिकर टाँसेछन् : वन मन्त्री आले

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले चर्चामा आइरहने पात्र हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मध्येका एक आलेले फेरि एउटा चर्तिकला नै देखाएका छन् ।

चीन सरकारबाट अनुदानमा आएको अक्सिजन सिलिण्डर र स्वास्थ सामग्रीमा आफ्नो तस्बीरसहितको स्टिकर टाँसेर मन्त्री आले गृह जिल्ला डोटी र धनगढी पुगे । प्रचारात्मक शैलीमा उनले अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री पनि वितरण गरे ।

यसअघि पनि बिभिन्न टिकाटिप्पणीका कारण सामाजिक सञ्जालमा भाइरल भइरहने मन्त्री आले अक्सिजन सिलिण्डर वितरणपछि झनै भाइरल बनेका छन् ।

विपदको बेला मन्त्री आलेको शैली निकृष्ट र तुच्छ : सामाजिक सञ्जाल

मन्त्री आले ती सामग्री बाँड्न हेलिकोप्टर चढेर गृह जिल्ला डोटी र त्यहाँबाट धनगढी पुगेका थिए । उनले जिल्ला अस्पताल डोटी र धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ती सामग्री बाँडेका थिए ।

मन्त्रीबाट यसरी सहयोग वितरण हुनुलाई स्वागतयोग्य मानिए पनि विपदका बेला आफ्नो प्रचार राजनीति गर्नु निकृष्ट र तुच्छ कार्य भएको भन्दै सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले उनको तस्वीर अंकित सिलिन्डरका फोटोहरु शेयर गर्दै आलोचना र गालीको बौछार नै छाडेका छन् ।

बारम्बार भाइरल बन्दै मन्त्री आले

तर मन्त्री आलेले सबै सिलिन्डर तथा औषधिका प्याकेटमा ‘नेपाल सरकारका माननीय वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री’ लेखिएको स्टिकर टाँसेर वितरण गरेका छन् ।

सस्तो लोकप्रियताका लागि यो हदसम्मको कार्य गर्न सक्ने मन्त्री आलेले गत बर्ष एक कार्यक्रममा ‘रूखले हामीलाइ कार्बनडाइअक्साइड दिन्छ र हामीबाट अक्सिजन लिन्छ’ भनेपछि भाइरल नै बनेका थिए ।

मन्त्री आलेले ७५ सिलिन्डर गृह जिल्ला डोटी अस्पतालमा र ५० वटा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा प्रदान गरेका छन् । यसका साथै उनले सेनिटाइजर, मास्क, औषधिलगायत सामग्री पनि वितरण गरेका छन् ।