निकुञ्ज विभागले हटाउने भनेको होटलको म्याद वनमन्त्री आलेले ५ वर्ष थपे

रारा ताल छेउका संरचना हटाउने निकुञ्ज विभागको योजनाविपरीत वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफ्नै पार्टीका नेता गोपाल बमको ताल छेउस्थित डाँफे होटलको म्याद ५ वर्ष थपिदिएका छन् ।

तीन महिनाअघि निकुञ्ज विभागले स्विकृत गरेको रारा तालको ५ वर्षे व्यवस्थापन योजना (सन् २०२१–२०२५) मा रारा तालको छेउमा रहेका दुई होटल (डाँफे र हेरिटेज) सहित निकुञ्ज र नेपाली सेनाको गुल्म त्यहाँबाट मध्यवर्ती क्षेत्रमा सार्ने उल्लेख छ ।

रामसार सूचीमा सूचिकृत रारा तालको संरचना, जैविक विविधता र पारिस्थितीकीय प्रणाली जोगाउन कोरक्षेत्रमा रहेका सबै संरचनालाई बाहिरी क्षेत्र (मध्यवर्तीक्षेत्र) मा सार्नुपर्ने विज्ञहरुको सुझाव प्रतिवेदनमा समेटिएको छ । तर, मन्त्री आलेले जेठ ७ गते एमालेका निवर्तमान सांसदसमेत रहेका बमले सञ्चालन गरेको रारा तालको हुटुस्थित् डाँफे होटलको म्याद ५ वर्ष थप गरेका हुन् ।

डेढ महिनाभन्दा बढी म्याद बाँकी हुँदै ५ वर्षे म्याद थप गर्दा मन्त्री आलेले विभागसँग राय लिएका थिएनन् । “म्याद थपका लागि मन्त्रीज्यूकोमा निवेदन परेको रहेछ”, महानिर्देशक दीपक खरालले भने, “सचिवज्यूसँग छलफल गरेर मन्त्रीज्यूले म्याद थप गर्नुभएछ ।”

म्याद थपिएलगत्तै मन्त्री आले अनुगमन भन्दै हेलिकोप्टरमा रारा निकुञ्ज गएका थिए । केही बेर कर्मचारीसँग छलफल गरेर उनी खप्तड निकुञ्ज गएका थिए । रारा निकुञ्ज कार्यालय भने यो पटक होटलको म्याद थप गर्न नहुने पक्षमा थियो ।

“व्यवस्थापन योजना कार्यान्वयन गर्ने हो भने म्याद थप गर्नु हुन्थेन”, निकुञ्जका प्रमुख संरक्षण अधिकृत बद्रीविनोद दाहालले राराबाट भने, “स्थानीयलगायत मध्यवर्ती क्षेत्रका बासिन्दाहरु यहाँका सबै संरचना बाहिर सानुपर्छ भन्नेमा छन्, जो जायज छ ।”

तत्कालिन प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलेसमेत रामसार सूचीमा सूचिकृत रारा तालको जैविक विविधता जोगाउन कोर एरियाका सबै संरचना हटाउन एक महिना अघि सरकारलाई निर्देशन दिएको थियो ।

समितिका १२ जना सदस्यहरुले स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गरेका थिए । “स्थलगत अध्ययन गर्दा स्थानीयले जतिसक्दो चाँडो संरचना हटाउनुपर्ने सुझाव दिएका थिए”, मुगुका तत्कालीन सांसद मोहन बानियाँले भने, “तिनै सुझावका आधारमा समितिले सरकारलाई संरचना हटाउन सुझाएको थियो, सुझाव कार्यान्वयन भएन ।”

गत फेब्रुअरीमा विभागले स्विकृत गरेको रारा तालको ५ वर्षे व्यवस्थापन योजनामा तालसँगै रहेका होटलमा दिनहुँ हुने भीड, निकुञ्ज कार्यालय र सेनाको गुल्मका कारण तालको संचरना र जैविक विविधतामा असर गरेकाले हटाउनुपर्ने उल्लेख छ । व्यवस्थापन योजना प्रतिवेदनमा उल्लेख भएअनुसार सन् २०१९, २०२० मा ८ हजार २ सय २३ आन्तरिक पर्यटक भित्रिएका थिए ।

आन्तरिक पर्यटक अत्यधिक वृद्धि हुन थालेका कारण तालको जैविक विविधता र पारिस्थितीकीय प्रणालीमा नकारात्मक असर परेकाले मानवीय चाप हटाउन सबै संरचना कोर क्षेत्रबाहिरको मध्यवर्ती क्षेत्रमा सार्नुपर्ने विज्ञहरुले सुझाव दिएका थिए ।

व्यवस्थापन योजना बनाउने बेला भएको छलफलमा पनि मध्यवर्ती क्षेत्रका बासिन्दाले तालको स्वरुप यथावत राख्न जतिसक्दो चाँडो सबै संरचना हटाउन सुझाव दिएका थिए । मानवीय चापले तालको स्वरुप बिगार्न सक्ने भन्दै २०३४ सालमा ताल छेउका रारा र छाप्रु गरी दुई गाउँका करिब दुई सय परिवारलाई बर्दियाको ताराताल स्थानान्तरण गरिएको थियो । ती बस्ती पछि बाँकेको चिसापानी गाबरभ्याली सारिएको छ ।

जिल्ला समन्वय समिति, मुगुका संयोजक पूर्णबहादुर रोकायाले ताल छेउका संरचना हटाउन आफूहरुले पनि विगतमा धेरै पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको गुनासो गरे । “ताल छेउमा रहेका होटलमा दिनहुँ दुई–तीन सय जना मान्छे आएर बस्दा फोहोर हुँदैन भने पहिला किन यहाँको बस्ती हटाइयो ?,” रोकायाले प्रश्न गरे, “तालको स्वरुप यथावत राख्ने हो र यहाँको जैविक–विविधता बचाउने हो भने सबै संरचना कोरक्षेत्रभन्दा बाहिर राख्नुपर्छ ।”

महानिर्देशक खराल भने होटलको म्याद ५ वर्ष थपिए पनि त्यहाँस्थित् निकुञ्ज कार्यालय र सेनाको गुल्म एक–दुई वर्ष भित्र निकुञ्जको कोर क्षेत्रभन्दा बाहिर सारिसक्ने योजना रहेकाले त्यतिबेला होटल पनि स्वत: हट्ने दाबी गर्छन् । “निकुञ्ज र सेनाको संरचना बाहिर ल्याउने योजना अनुसार काम भइरहेको छ”, उनले भने ।

मन्त्रीले गरेको निर्णयमा संरचना बहिर्गमन योजना (एक्जिट प्लान) बनाउनेसमेत भनिएको छ । जबकी, व्यवस्थापन योजनामै त्यो प्रस्ताव गरिएको थियो । व्यवस्थापन योजना कार्यान्वयन गर्ने निकाय विभाग हो । विभागले निकुञ्जको राय लिएर बहिर्गमन योजना बनाइ कार्यान्वयन गर्नुपर्ने थियो ।

तर, मन्त्रीले एकैपटक म्याद थपिदिएपछि व्यवस्थापन योजनामा उल्लेखित काम सबै छायाँमा परेको जानकारहरुको बुझाइ छ । तालछेउमै रहेको हेरिटेज होटलको म्याद भने २०८० सालसम्म छ । हेरिटेज होटलका सञ्चालक राजु कार्की पर्यटन प्रवर्द्धन दिगो हुने गरी होटललगायतको व्यवस्थापनमा ध्यान दिनुपर्ने तर्क गर्छन् । “रारामा होटल नै छैनन् भन्ने सन्देश जाने गरी होटलहरुलाई अन्यत्र सार्नु हुँदैन, व्यवस्थित योजना बनाएर बाहिरी क्षेत्रमा स्थापित गर्नुपर्छ,” कार्कीले भने ।

रारा ताल उच्च हिमाली जैविक विविधताको प्राकृतिक सिमसारका रुपमा विश्वमै प्रख्यात छ । १०.६ वर्गकिमिमा फैलिएको यो तालको लम्बाई ५.१ र चौडाई ३.२ किलोमिटर र गहिराई १ सयदेखि १६७ मिटर छ । ३० वटा स–साना खोलाबाट बगेर आएको पानीबाट रारा ताल बनेको हो । २९९० मिटर उचाइमा रहेको राराको पानी कर्णालीमा मिसिन्छ । कर्णाली मुलुकका चार नदीमध्येको एक हो ।