सुरेन्द्र पाण्डे, घनश्याम भुसालसहित १२ जनालाई २४ घण्टे स्पष्टीकरण पत्र

नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ जना नेतालाई स्पष्टीकरण सोधेको छ ।

२४ घण्टाभित्र जवाफ पेश गर्ने गरी स्पष्टीकरण सोधिएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

सोमवार बसेको स्थायी कमिटी बैठकले नेताहरु घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, दीपकप्रसाद भट्ट, नारायण खतिवडा, मेटमणी चौधरी, यज्ञराज सुनुवार, झपट रावल, भवानीप्रसाद खापुङलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।सोही अनुसार उनीहरुलाई स्पष्टीकरण पत्र पठाइएको हो ।

पार्टीहीत विपरित देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको, बागमती प्रदेशमा पार्टीका आधिकारिक उम्मेदवार रामबहादुर थापालाई मतदान नगरी बागी उम्मेदवार खडा गरेको भन्दै माधव नेपाल, झलनाथ खनाल लगायत ११ जनालाई पार्टीको सदस्यता नरहने गरी कार्वाही गरिएको थियो ।

लोकान्तर संवाददाता