नेपाली राष्ट्रिय फुटबल टिम इराक पुग्यो

इराकविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम बुधबार दिउँसो इराकको बासरा सहर पुगेको छ ।

नेपालले कुवेतमा हुने विश्वकप एसियाली छनोटका बाँकी खेल अगाडि पूर्व एसियाली च्याम्पियन तथा एसियाली फुटबल शक्ति इराकविरुद्ध यो मैत्रीपूर्ण खेल खेल्न लागेको हो। खेल जेठ १५ शनिबार बासराको अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ। नेपालले आफूभन्दा निकै माथिल्लो वरीयताको टिमसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको यो पहिलो पल्ट हो।

मंगलबार राति विशेष विमानबाट उडेको नेपाली राष्ट्रिय टिम कतार भएर बासरा पुगेको हो। नेपाली टिम त्यहाँको सेराटन होटलमा बसेको छ। नेपालले कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुटारीको नेतृत्वमा खेल्न लागेको यो पहिलो खेल हुनेछ। त्यसपछि नेपालले विश्वकप छनोटअन्तर्गत चानिया ताइपेयी, जोर्डन र अस्ट्रेलियाविरुद्ध खेल्नेछ।

यस विश्वकप छनोट एसियाकप छनोटका रूपमा पनि रहेको छ र यसमा आफू अनुकूल नतिजा निकाल्न सके नेपालसामु एसियाकपमा छनोटको सम्भावना बढाउन सक्नेछ।