तरकारी ढुवानी गर्ने गाडीमा पनि जोर-बिजोर प्रणाली लागू

काठमाडौं । कोरोना भाइरसको संक्रमण दर बढेको भन्दै कालिमाटी तरकारी बजारका व्यवसायीका सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू गरिएको छ ।

तरकारी ओसारपसारका लागि प्रयोग गरिने सवारी साधनमा जोर–बिजोर प्रणाली लगाउने निर्णय गरिएको बजार विकास समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले बताए । उनका अनुसार करिब ७० वटा सवारी साधन ढुवानीका लागि प्रयोग हुँदै आएका छन् । उपत्यका प्रशासनले तीन जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गरेको छ ।

तर प्रशासनले तरकारीका सवारी साधनलाई अत्यावश्यक सेवाका रुपमा राखेर सञ्चालनमा अवरोध गरेको छैन । कालिमाटी तरकारी बजारमा किनमेलको नाममा भिड बढेको गुनासो पनि बढेको छ । धेरै गाडी भएर चालक र सहचालककै कारण पनि भिड बढी देखिएकाले जोर–बिजोर प्रणाली लगाउनुपरेको भट्टराईले बताए ।