कास्कीमा निर्वाचन लड्नु भनेकाे फेरि पराजित हुनु हो: वामदेव गाैतम

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्याक्ष वामदेव गौतमले कास्की जिल्लामा रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि उमेद्वारी नदिने जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत चुनावमा उमेद्वारी नदिने जानकारी दिएका हुन् ।

गौतमले लेखेका छन्, ‘आज (शनिबार) बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु । मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नु हुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेडसहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु ।’ उनले आफ्नो फेसबुकमार्फत जानकारी गराउँदै कास्कीमा रिक्त प्रतिनिधिसभा सदस्यमा भाग नलिने बताएका हुन् ।

उले थपेका छन्, ‘यसअघि (२०७४ मा) प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया-१ मा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको भन्दा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनु पर्यो । त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो ।’ उनले आफूभन्दा अरु कोही स्थानीय कमरेड उठ्दा सहजै विजय प्राप्त गर्न सक्ने विश्वास गरेका छन् । कास्कीमा स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदर हुने भन्दै काम गर्दै आएका नेतालाइ उम्मेदवार बनाउनु पर्ने उनले स्पष्ट पारे ।

कास्कीको निर्वाचन क्षेत्र २ मा विजयी भएका रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उक्त पद रिक्त हुँदै आएको थियो । उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पद सम्हादै गर्दा दुर्घटनामा परेका थिए ।