चीनसँगको कूटनैतिक सम्बन्धमा नेपालले भारतलाई उछिनेपछि भारत चिन्तित

६ वर्षअघि भारतले चीनसँग गरेको सम्झौतालाई उछिन्दै नेपालले चीनसँगको कूटनैतिक सम्बन्धमा फड्को मारेपछि अहिले भारतमा यसले चिन्ता बढाएको छ । नेपालले चीनको दक्षिण पश्चिमी सहर चेंगडुमा कन्सुलेट जनरल कार्यालय खोलेको छ । यो चीनमा नेपालको पाँचौं कूटनैटिक कार्यालय हो ।

भारतले चीनसँग चेंगडुमा आफ्नो कन्सुलेट जनरल कार्यालय खोल्ने सम्झौता गरेको ६ वर्ष भइसक्दा पनि भारतले कन्सुलेट खोल्न नसकिरहेको अवस्थामा नेपालले फड्को मारेपछि भारतमा चिन्ता देखिएको छ । भारतीय मिडियामा यसलाई नेपालको भारतसँग बढ्दो दूरी र चीनसँग बढ्दो निकटताको रुपमा अर्थ लगाइएको छ ।

भारत र चीनबीच पछिल्लो समय सम्बन्ध बिग्रिएको छ । त्यसमाथि नेपाल लामो समयसम्म व्यापारिक प्रयोजनको लागि भारतमा निर्भर रहँदै आएकोमा नाकाबन्दीपछि चीनतिर निकट हुन थालेको थियो जुन भारतको लागि टाउको दुखाइको विषय बनेको छ । नेपालको चीनतर्फ झुकाव भारत चाहँदैन । नेपालमा चीनको प्रभाव बढ्दा आफूलाई रणनैतिक नोक्सानी हुने डर भारतमा छ । यही कारण भारत सकेसम्म नेपाल र चीनबीच निकटको सम्बन्ध रोक्न चाहन्छ ।

भारतीय अखबार हिन्दूस्तान टाइम्सले पछिल्लो समय चीन र नेपालबीचको सम्बन्ध गहिरिँदै गएको भन्दै चिन्ता व्यक्त गरेको छ । नेपाल सरकारलाई उद्धृत गर्दै समाचारमा २०१५ पछि नेपालमा प्रत्यक्ष विदेशी लगानीमा चीन शीर्ष स्थानमा रहेको उल्लेख छ ।

२०१९ मा चीनको समाचार एजेन्सी सिन्ह्वाको एक रिपोर्टमा नेपालमा आउने भनिएका कूल ९५ मिलियन डलर बराबरको विदेशी लगानी प्रतिज्ञामध्ये ८८ मिलियन डलर चीनको मात्र थियो जुन नेपालमा आउने कूल विदेशी लगानीको ९३ प्रतिशत थियो ।

चीनका राष्ट्रपति शी जिनपिंगले २०१९ को अक्टोबरमा नेपाल भ्रमण गरेका थिए जुन २३ वर्षपछि कुनै चिनियाँ सरकार प्रमुखको नेपाल भ्रमण थियो । यसलगत्तै नेपालले चीनको सिचुआन प्रान्तको राजधानी चेंगडुमा कन्सुलेट जनरल कार्यालय खोलेको हो ।

६ वर्ष पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा गएका बेला २०१५ मा भारत र चीनबीच एक अर्काको देशमा कन्सुलेट खोल्ने सहमति भएको थियो । चीनको चेंगडुमा भारतले र चेन्नइमा चीनले कन्सुलेट खोल्न सम्झौता भए पनि यो कार्यालय अझै खुल्न सकेको छैन ।

नेपालको भने चीनमा कूटनैतिक कार्यालय ५ पुगेका छन् । चेंगडुमा यो कन्सुलेट खुल्नुअघि चीनको राजधानी बेइजिङमा नेपाली दूतावाससहित तिब्बतको राजधानी ल्हासा, गुआंगडोंगको राजधानी ग्वान्झाउ र हङकङमा नेपाली कन्सुलेट पहिल्यै थिए । यससँगै नेपाल चीनको चेंगडुमा कन्सुलेट हुने निकै कम देशहरुमध्ये एक बनेको छ ।

ल्हासामा कन्सुलेट कार्यालय हुने नेपाल एकमात्र देश हो । भारतले २०१५ मा ल्हासामा कन्सुलेट खोल्न चाहेको भए पनि चीनले अस्वीकार गरेपछि भारतले चेंगडुमा कन्सुलेट खोल्ने सहमति भएको थियो तर त्यसमा पनि नेपालले भारतलाई उछिनेको छ ।