मुख्यमन्त्री राईद्वारा बुद्धजयन्तीको शुभकामना

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्धजयन्ती तथा किराँत समुदायको महान सांस्कृतिक चाड उभौली (साकेला, साकेन्वा, चासोक तङनाम, चासुवा, फोलस्याँदर)२०७८ का अवसरमा आज शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री राईद्वारा जारी शुभकामना सन्देशमा विश्व शान्तिका अग्रदूत गौतम बुद्धका उपदेश विश्वमै लोकप्रिय रहेको उल्लेख गर्दै शान्ति, अहिंसाका प्रतिमूर्ति गौतम बुद्धबाट व्यक्त सत्य वचनको महत्व आजको विश्व परिवेशमा झनै बढेको उल्लेख गरेका छन् ।

सन्देशमा उनले बुद्धका उपदेशलाई आत्मसात गर्न सकिए राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र दिगो शान्ति स्थापना हुने विश्वास व्यक्त गरेका छन् । त्यस्तै सन्देशमा मुख्यमन्त्री राईले उभौलीजस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गरेका छन् ।