कोरोनाले मृ’त्युसँग साक्षात्कार गरायो,मेरो घर फर्किने आशा मरेको थियो !

कोरोनाको दोस्रो भेरियन्टले यतिबेला देशमा आतङ्क मच्चाएको छ । भीआईपी, सेलिब्रेटी वा सर्वसाधारण नै किन नहुन्, कोरोनाबाट सबै प्रभावित छन् ।

पहिलो लहरको तुलनामा धेरै खतरनाक मानिएको संक्रमणको दोस्रो लहर नयाँ भेरियन्टका कारण घातक बनिरहेको छ भने प्राण गुमाउनेको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ ।

यो भेरियन्टबाट सङ्क्रमित केही मानिस होम आइसोलेसनमै ठिक भएका छन् भने कतिले त अस्पताल पुगेर पनि ज्यान गुमाएका छन् । अस्पतालमा बेड नपाएर अक्सिजनको अभावमा ज्यान गुमाउनेको संख्या बढ्दो छ भने मृत्युको मुखबाट फर्किनेसमेत धेरै छन् । तीमध्येका एक हुन्– कलाकार रवि डङ्गोल अर्थातन् ‘का बेइमान’ ।

टेलिसिरियलमा ‘का बेइमान’ थेगो प्रयोगकर्ताका रुपमा दर्शकमाझ पहिचान बनाएका रविले केही दिन अगाडिमात्र कोरोनामाथि जित हासिल गरेका हुन् । ९ दिन होम आइसोलेसन र ९ दिनसम्म अस्पतालमा कठिनपूर्ण सङ्घर्षपछि कोरोना संक्रमणमुक्त भएका रवि अहिले पनि पूर्णरूपमा ठिक भइसकेका छैनन् । उनी अहिले घरमै स्वास्थ्यलाभ गरिरहेका छन् ।

विश्वलाई आतङ्कित बनाएको कोरोनालाई ‘केही होइन’ भन्ने व्यक्ति पनि थुप्रै छन् । तर आफूले भोगेपछि मात्र कोरोना के हो र यसको असर कस्तो हुन्छ भन्नेबारे राम्रोसँग थाहा पाइने रवि बताउँछन् ।

रवि डङ्गोलको कोरोना अनुभव र भोगाइ उनकै शब्दमा–

अहिले ठिकै छ

मेरो स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख छ । केही शारीरिक कमजोरीबाहेक अन्य सबै ठिक छ र बिस्तारै ठिक हुँदैछु । स्वास्थ्यको विशेष ख्याल गरिरहेकै छु । अबको केही समयपछि म पहिलेकै अवस्थामा फर्किन्छु भन्ने विश्वास छ ।

खोपको चक्करमा संक्रमण !

म कहिले र कसरी कोरोना सङ्क्रमित भएँ भन्ने अझै सोच्दैछु । कुनबेला, कहाँ र कसरी कोरोना लाग्यो थाहा नै पाउन सकेको छैन । सबै र सधैँ उच्च सतर्कताका अपनाउँदा र स्वास्थ्य मापदण्ड पालना गर्दा पनि म सङ्क्रमित भएँ ।

केही दिन अगाडिदेखि कमजोरी फिल भइरहेको थियो । सिरियल ‘उल्टो सुल्टो’को सुटिङ र अन्य कामको दौडधुपले थकान महसुस भएको होला भन्ने लाग्थ्यो ।

कोरोनाको खोप लगाउने चक्करमा पनि थिएँ । लकडाउनको पहिलो दिन एकजना भाइले ‘कोरोना खोपका लागि कुपन पाइन्छ, त्यो भयो भने खोप लगाउन सजिलो हुन्छ’ भने ।

कुपनका लागि म बिहान ४ बजे उठेर अस्पताल पुगेको थिएँ । सायद त्यही अस्पतालबाट कोरोना सरेको होला । किनभने अस्पतालबाट फर्किएको केही दिनपछि शरीर दुख्ने, थकाइ लाग्ने लगायत हुन थालेको थियो ।

लकडाउन अगाडि सुटिङको समय लागेको भनौँ भने युनिटका अन्य सदस्य, सम्पादन कक्षका सदस्यमा पनि कोरोना देखिनुपर्ने हो । उहाँहरु कोही कसैलाई संक्रमण भएको छैन । घरमा पनि मभन्दा अगाडि कसैलाई संक्रमण भएको थिएन । म सङ्क्रमित भएपछि श्रीमती र बच्चामा पनि संक्रमण देखियो ।

९ दिनपछि अस्पताल

केही दिनदेखि नियमित शारीरिक दुखाइ र हल्का ज्वरो देखिएपछि मलाई कोरोना भएको शङ्का लागेको थियो । तुरुन्तै होम आइसोलेसनमा बसेँ । कामको तनावका कारण यस्तो भएको भए ठिक भइहाल्छ भन्ने भयो ।

सामान्य औषधि खाएर होम आइसोलेसनमा बसेँ । तीनचार दिनसम्म पनि स्वास्थ्यमा केही सुधार नदेखिएपछि मनमोहन अस्पतालमा करिब तीनघन्टा लाइन बसेर पीसीआर टेस्ट गराएँ । रिपोर्ट पोजेटिभ आयो तर मनमा तनाव भने भएन । किनकि आफूलाई कोरोना नै लागेको हो भन्नेमा मैले आफूलाई त्यतिबेलासम्म मानसिक रुपमा तयार पारिसकेको थिएँ ।

होम आइसोलेसनमा सबै सावधानी अपनाएर बसेँ । तर पनि घरका सदस्यमा संक्रमण सयो । विभिन्न आवश्यक सामान दिने सिलसिलामा सरेको होला । घरमै बसेर संक्रमण निको पार्छु भन्ने थियो । आत्मबल बलियो बनाएर खानादेखि सबै कुरामा ध्यान दिएको थिएँ ।

औषधिसमेत खान्थेँ । खानामा पटक्कै रुचि हुँदैनथ्यो तर पनि जबर्जस्ती खान्थेँ । यसलाई जसरी पनि जित्नुपर्छ भन्ने थियो । त्यो गर्दागर्दै पनि ९ दिनपछि ममा अक्सिजनको मात्रा कमी देखियो । सास फेर्न गाह्रो हुन थाल्यो । त्यसैले अस्पताल जान बाध्य भएँ ।

घर फर्किन्न भन्ने थियो

शरीरमा अक्सिजनको लेबल केही कम देखिएपछि म र आफन्त सबैले धेरै अस्पतालमा बेडका लागि प्रयास ग¥यौँ । कसैले आर्मी अस्पताल जान सुझाए, कतिले टेकु अस्पतालका लागि प्रयास गरे तर कहीँकतै बेड पाउन सकिएन ।

अनेक प्रयास गर्दा अस्पतालमा बेड नपाएको र समाचारमा पनि अस्पताल भरिएको सुन्दा अब म अस्पताल नै जान पाउँदिन होला, अब मेरो उपचार हुँदैन होला, म अब मर्छु होला भन्ने लाग्थ्यो ।

मेरा भान्जीहरू निदान अस्पतालमा स्टाफ नर्स हुनुहुन्छ । उहाँहरूमार्फत सोही अस्पतालमा बेड मिल्यो । त्यो अस्पतालमा ९ दिन बसेँ । ९ दिनको अस्पताल बसाइ मेरोलागि पीडादायक नै रह्यो । मेरो अक्सिजन लेबल केहीमात्र कम भएको थियो ।

तर अस्पतालमा केही मानिसको अक्सिजन लेबल पाइपबाट दिँदा पनि नपुगेर अरू तरिकाबाट पनि दिएको देखिन्थ्यो । आज एउटा बिरामी आँखा अगाडि हुन्थ्यो भने भोलि अर्काे । पहिलेको बिरामी के भयो भन्ने केही थाहा हँुदैनथ्यो । बिरामीकै सामुसमेत अपरेसन हुन्थे । अस्पताल बसाइका क्रममा थुप्रै दर्दनाक दृश्य सधैँजसो देख्नुपथ्र्योे । त्यो बयान अहिले म शब्दमा गर्न सक्दिनँ ।

अस्पतालको हरेक दिनको कहालीलाग्दो दृश्यले मलाई पनि म अब घर फर्किन्छु कि फर्किन्न भन्ने डर लाग्थ्यो । अक्सिजन लेबल थोरैमात्र कम भएका कारण घर त फर्किन्छु होला भन्ने झिनो विश्वास थियो । मेरो अनुभवमा कोरोनाले इम्युनिटी पावर जिरो पार्दाेरहेछ । पिसाब फेरेर बेडमा फर्किंदा पनि अक्सिजनको लेबल धेरै प्रतिशत घट्थ्यो ।

अस्पतालमा सधँै घोप्टो परेर सुत्नुपथ्र्योे । अस्पतालमा ९ दिन मैले घोप्टो परेरै बिताएँ । अस्पताल गएको दुई दिनमात्र मलाई ज्वरो आयो । कोरोनालाई पेलेरै जानुपर्छ भनेर अस्पतालमा पनि म धेरै खानेकुरा मगाएर खान्थेँ । त्यहीअनुसार हरेक क्रियाकलपा गर्थें । सायद त्यसैले पनि होला, कोरोना जितेर फर्किन सफल भएँ ।

कोरोना केही होइन भन्नु गलत

अहिले धेरैले कोरोना केही होइन र छैन भनेको पनि सुन्छु । त्यो गलत हो । जसले भोग्छ त्यसलाई थाहा हुन्छ कोरोना के हो भनेर । यो मृत्यु नै हो । मानिसहरूले यो कुरो बुझेको जस्तो लागेन । मैले कोरोना भोगेर आएँ ।

यो क्रममा मृत्युलाई नजिकबाट देखेँ । जिन्दगी पनि बुझेँ । उपचारका क्रममा अस्पतालमा एक्लै बस्नुपथ्र्याे । न कसैसँग कुरा गर्न पाउनु, न कसैले केही दिनु । जे गर्नुपथ्र्योे त्यो एक्लैले गर्नुपथ्र्योे । जीवनमा त्यस्तो सङ्घर्ष कहिल्यै गरेको थिइनँ । एक किसिमले भन्ने हो भने कोरोनाले मलाई मृत्युसँग साक्षात्कार नै गरायो । कोरोनाका कारण म जीवनमा पहिलोपटक अस्पताल भर्ना भएर बसेँ ।

पहिले म पनि कोरोनालाई हल्का रूपमा लिन्थेँ । कहिलेकाहीँ यो छैन भन्ने पनि लाग्थ्यो । कोरोना सबैले पचाएका छन्, म पनि सजिलै पचाउन सक्छु भन्ने लाग्थ्यो । तर म गलत रहेछु । यो कस्तो हो भन्ने भोगेपछि मात्र थाहा हुन्छ । यो चानचुने कुरो होइन । यो त मृत्यु हो मृत्यु । यसलाई लापरबाही गर्नु हुँदैन ।


कहाँ छ राज्य ?

देशमा राज्य छ÷छैन थाहा छैन । राज्य भएको उपस्थिति स्वास्थ्य क्षेत्रमा देखिएको छैन । सर्वसाधारण नागरिक अस्पतालमा बेड र अक्सिजन नपाएर छटपटाइरहेका छन् । सरकारी अस्पतालमा सिट नपाएर उपचारको कल्पना पनि गर्न सकिँदैन अहिले । प्राइभेटमा पैसा तिरेर उपचार गर्न सकिँदैन ।

मलाई पनि पहिले सरकारी अस्पताल लाने कुरो भएको थियो । सायद म त्यहाँ गएको भए फर्किन्न थिएँ होला । अहिले पनि अस्पतालले ‘अक्सिजन सकिन लाग्यो, तपाईंलाई डिस्चार्ज गर्नुपर्यो’ भनेर बिरामीलाई भन्ने गरेका छन् । के यसो भन्न मिल्छ ? यस्तो अवस्थामा नागरिकले राज्यको उपस्थितिको अनुभूति गर्न सकेका छैनन् ।यो समाचार रातोपाटीबाट साभार गरिएको हो ।