‘नागरिकता अध्यादेशको विरोध गर्नेहरु जनविरोधी हुन्’ – प्रभु साह

काठमाडौं । नेकपा एमालेका नेता प्रभु साहले सरकारले जारी गरेको नागरिकता अध्यनदेशको विरोध गर्नेहरु जनविरोधी भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा नागरिकता सम्बन्धी अध्यादेशको विषयमा आएको विरोधमा आफ्नो धारण सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘नेपालको नागरिकता प्राप्त नागरिकका सन्तानलाई नागरिकता दिने उद्देश्यले आएको अध्यादेशमा राष्ट्रघात देख्ने तथा नागरिकताको पसल खुल्यो, सिक्किमीकरण र फिजिकरण हुने भयो भनेर अर्नगल दुष्प्रचारको हर्कत गर्नेहरु जनविरोधी हुन् ।’ संवैधानिक प्रावधान, सर्वोच्च अदालतको निर्देशन एवं संसदीय समितिको सर्वसहमत निर्णय अनुरूप आएको अध्यादेशलाई यसरी अनुचित तवरले विवादित एवं बदनाम गराउने तथा नागरिकता प्राप्त गर्न योग्य लाखौं नेपाली नागरिकलाई आफ्नै देशमा शरणार्थी बनाउने दुस्सकर्मको प्रयास गर्नु र गराउनु राष्ट्रवाद होकी देश र जनताप्रतिको घात हो ? भनेर प्रश्न समेत गरेका छन् ।

उनले नेपालको विधानको व्यवस्था अनुसार नै यो अध्यादेश आएको बताएका छन् । उनले लेखेका छन्, ‘नेपालको संविधानको भाग(२) को धारा १० (१) मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन । भन्ने स्पष्ट संवैधानिक व्यवस्थाको वावजूद पनि नागरिकता प्राप्त गर्न योग्य आफ्नै देशका लाखौं लाख युवा युवतीहरुलाई संवैधानिक परिकल्पना बमोजिम कानूनको अभाव लगायतका विभिन्न वहाना र जालझेलको आडमा आफ्नो सत्ता स्वार्थ सिद्ध गर्न लामो सममसम्म अनागरिक बनाई राख्ने षड्यंत्र विफल पार्न आएको यस नागरिकता अध्यादेशको विरोध गर्नु अज्ञानता मात्र हो कि नश्लवादी अंहकारमा लिप्त लम्पट जनविरोधी हर्कत होस सबैले समयमैं बुझ्न जरुरी छ ।’