कसले पुछ्ने आदर्शको आँसु ?

केही अगाडिसम्म उनी समसामयिक विषयमा कमेडी गरेर टेलिभिजन र सामाजिक सञ्जालमार्फत देशका नागरिकलाई हसाउँथे। आज उनी राज्यको ‘कमेडी’ले आफै रुन बाध्य बनेका छन्। मिर्गौला पीडित बुबा विनोद मिश्राको निधनसँगै बारा जीतपुरका कमेडियन आदर्श मिश्रा निराश छन्।

शिक्षण पेशामा आवद्ध उनका बुबा लामो समयदेखि मिर्गौला पीडित थिए। उनको उपचारमा परिवारले कुनै कमी राखेको थिएन। एपचारकै क्रममा उनको मिर्गौला फेर्नुपर्ने भयो। भारतमा रहेकी उनकी सानीआमा आफ्नो मिर्गौला दिन तयार पनि भइन। तर अस्पतालले विदेशी नागरिक भएका कारण प्रत्यारोपण गर्न नमानेको आदर्श मिश्राले आरोप लगाएका छन्।

‘त्यो दिन बुबाले अस्पातल बाहिर निस्किएर ‘छोरा, यो देश मेरो होइन रहेछ,’ भन्नु भएको थियो,’ आदर्शले पत्रकारसँगको कुराकानीको क्रममा भनेका थिए। तिनै विनोदको उपचारको अभावमा मंगलबार निधन भएको छ। अनि त आदर्शले पनि बुवाकै पाइला पछ्याए र सामाजिक सञ्जालमा लेखे, ‘हो यो देश मेरो होइन रहेछ।’

आदर्श मिश्रा पछिल्लो दुःखद् घटनाका एक पात्र मात्र हुन्। मुलुकमा अझै थुप्रै आदर्श छन्, जसले उचित उपचारको अभावमा बुबा–आमा र छोराछोरी गुमाइरहेका छन्। मुलुकको झुटो आदर्शको सामु साँचो आदर्श रोइरहेको छ। आदर्शहरुले कहिलेसम्म रुनु पर्ने हो? साच्चै, कसले पुछ्ने होला आदर्शहरुको आँसु?

बुबाको उपचारमा भौंतारिरहेका उनले सामाजिक सञ्जालमा आफ्नो दुःख र आक्रोस केही दिनयता पोख्दै आएका थिए। ‘यो यस्तो देश हो जहाँ मेरो ममी भारतीय भएकै कारण बाबाको किड्नी ट्रान्सप्लान्ट भएन’ उनले सोसल मिडिया मार्फत् आक्रोस पोखेका थिए, ‘तर केपी ओली प्रधानमन्त्री भएकै कारण दुई पटकसम्म ट्रान्सप्लान्ट भयो। अनि, म नरिसाउने किन?’

उनले बुबाको मृत्युको कारण वीरगन्जको नेशनल मेडिकल कलेज र नारायणी उप क्षेत्रीय अस्पतालको लापरवाहीलाई पनि दोष लगाएका छन्। कोरोनाका कारण स्वास्थ्य संस्थाहरु अस्तव्यस्त हुँदा डायलासिस गराउन समस्या भोगेको उनी सुनाउँछन्।

यसमा पनि प्रधानमन्त्रीको ध्यान जान नसकेको उनले भन्दै आएका थिए। किनकि अहिले पनि नियमित डायलासिस गर्नुपर्ने हजारौं बिरामीहरु पीडामा छन्। प्रधानमन्त्री स्वयम्लाई यो समस्याको बारेमा थाहा हुनुपर्ने उनको बुझाइ थियो। तर सरकारले बुझ्न नसकेको उनी सुनाउँछन्।

बुवाको निधनसँगै उनले सरकारविरुद्ध किड्नी प्रत्यारोपण गर्न नदिएको भन्दै मुद्दा हाल्ने बताएका छन्। यसका लागि उनले सरोकारवालासँग सहयोगको अपेक्षा गरेका छन्। ‘मेरो बुवाको किड्नी प्रत्यारोपण हुन नसकेकोमा सरकारविरुद्ध मुद्दा हाल्ने छु,’ उनले लेखेका छन्, ‘किनकि मेरी सानीआमा भारतीय भएका कारण अस्पतालले उनको किड्नी लिन मानेन।’

आदर्शको भनाइमा कति सत्यता छ, त्यो बुझ्नु जरुरी छ। आफ्नो पिताको उपचारको क्रममा देखिएको लापरवाहीलाई उनले बाहिर ल्याएका छन्। के साच्चै उनकी सानीआमा भारतीय भएका कारण मिर्गौला प्रत्यारोपण हुन नसकेको हो? यसबारे सम्बन्धित अस्पतालले जवाफ दिनु जरुरी छ। के कोभिडका कारण मिर्गौला पीडितले उपचारमा समस्या भोग्दै गरेका छन्? यसबारे राज्यको आजै ध्यान जानु जरुरी छ।

आदर्श मिश्रा पछिल्लो दुःखद् घटनाका एक पात्र मात्र हुन्। मुलुकमा अझै थुप्रै आदर्श छन्, जसले उचित उपचारको अभावमा बुबा–आमा र छोराछोरी गुमाइरहेका छन्। मुलुकको झुटो आदर्शको सामु साँचो आदर्श रोइरहेको छ। आदर्शहरुले कहिलेसम्म रुनु पर्ने हो ? साच्चै, कसले पुछ्ने होला आदर्शहरुको आँसु?