२६औँ पटक सगरमाथा चढ्ने योजना बुनेका कामीरिता फर्किए काठमाडौं

काठमाडौं । २५औं पटक सगरमाथाको चुचुरोमा पुगिसकेका कीर्तिमानी आरोही कामीरिता शेर्पा काठमाडौं फर्किएका छन् । २६औं पटक सगरमाथा चढ्ने योजना बनाएका उनी बीचमै छाडेर काठमाडौं फर्किएका हुन् ।

उनलाई आज(मंगलबार) अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा पर्यटन विभाग र उनको आरोहण व्यवस्थापन गरिरहेको कम्पनीका अधिकारीहरुले स्वागत गरेका थिए । १३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका उनी गत २४ बैशाखमा २५औं पटक सगरमाथा चुचुरो पुगेका थिए ।

यस सिजनका लागि सगरमाथा चढ्न बाटो बनाउने आइसफल डाक्टरहरुको नेतृत्व उनले गरेका थिए । आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक प्रालिका अनुसार सो दिन कूल १२ जना आइसफल डाक्टरको टोली सगरमाथा चुचुरोमा पुगेको थियो । कामीरिताको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ ।