कतै बेड पाउनै मुस्किल, कतै जनशक्ति अभावमा थन्किरहेका छन् भेन्टिलेटर

प्रदेश १ सरकारले गत वर्ष पूर्वी पहाडका पाँचवटा जिल्ला अस्पताललाई भेन्टिलेटर खरिदका लागि बजेट पठायो ।

प्रदेश सरकारबाट निकासा भएको बजेटबाट पाँचथर जिल्ला अस्पतालले ४ वटा, धनकुटा जिल्ला अस्पतालले ४ वटा, उदयपुर जिल्ला अस्पतालले २ वटा र इलाम अस्पतालले २ वटा भेन्टिलेटर खरिद गरे । तर ती भेन्टिलेटर अहिले प्रयोगविहीन भएर अस्पतालमै थन्किएका छन् ।

कोरोना महामारीका कारण संक्रमितको संख्या बढ्दै गएको अवस्थामा एकातिर गम्भीर स्वास्थ्य समस्या भएका बिरामीलाई भेन्टीलेटरसहितका शय्याको अभाव छ भने अर्कोतिर जनशक्तिको अभावमा कतिपय भेन्टिलेटर विभिन्न अस्पतालमा त्यसै थन्किएर बसेका छन् । कतिपयमा अस्पतालमा भने भेन्टिलेटर सञ्चालनका लागि उपयुक्त भवनको पनि अभाव देखिएको छ ।

कोरोना महामारीकै बीच प्रदेश सरकारले पठाएको बजेटबाट झापाको मेची अस्पतालले ४ वटा भेन्टिलेटर खरिद गरेर सञ्चालनमा ल्याए पनि अन्य कतिपय अस्पतालले अझै भेन्टिलेटर सञ्चालन गर्न सकेका छैनन् ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले ९ महिनाअघि जिल्ला अस्पताल धनकुटा र पाँचथरका लागि २/२ करोड, जिल्ला अस्पताल उदयपुर र इलामका लागि १÷१ करोड रुपैयाँ बजेट निकासा गरेको थियो ।

सोही रकमको सीमाभित्र रहेर ती अस्पतालले भेन्टिलेटर र आइसीयु सञ्चालनका लागि आवश्यक स्वास्थ्य उपकरण खरिद गरेका छन् । तर विशेषज्ञ चिकित्सक, एमडी ऐनेस्थेसिया, स्टाफ नर्स लगायतको जनशक्ति उपलब्ध नहुँदा ती सामग्री प्रयोगविहीन भएका हुन् ।