‘योगेश भट्टराईले धोका दिएको’ माधव समूहको निष्कर्ष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक प्रतिनिधि सभा विघटन गर्दा प्रतिगमन भयो भनेर मन्त्री पद त्यागेर सडक संघर्षमा उत्रिएका योगेश भट्टराई फेरि ओली समूहमै गएका छन् । उनले माधव नेपाल समूह त्यागेको घोषणा गर्दै निकै कठिनाईका साथ निर्णय लिएको सामाजिक सञ्जालमा राखे ।

नेपाल समूहमा लागेर ओलीविरुद्ध सशक्त रुपमा लागेका भट्टराईको गुट परिवर्तनले धेरै तथ्य बाहिर ल्याएको छ । ताप्लेजुङबाट निर्वाचित सांसद भट्टराईको राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि नजिकको सम्बन्ध छ । उनलाई ओली समूहमा ल्याउन राष्ट्रपतिको पनि महत्वपूर्ण भूमिका देखिएको छ । त्यसमाथि उनलाई एमालेभित्र महत्वपूर्ण जिम्मेवारीको आश्वासन समेत मिलेको बुझिएको छ ।

माधव नेपालको टिममा रहेर भट्टराई सुरुमा योजनाकार नै बनेका थिए । तर, संघर्ष पेचिलो बन्दै गएपछि पार्टी फुट्न दिन नहुने भन्दै नेपाललाई अगाडि बढ्नबाट रोकेका थिए । माधव नेपाल समूहका २८ सांसद राजीनामाका लागि तयार हुँदा भट्टराईले विरोध गरे । उनले अन्तिमा ओलीलाई रोक्न बनेको गठबन्धनले सरकार निर्माणका लागि दाबी प्रस्तुत गर्दा हस्ताक्षर गरेनन् ।

यतिबेला माधव नेपाल समूहभित्र केही महिनायताको घटना र नेताहरुको भूमिकाबारे समिक्षा हुनथालेको छ । नेपाल समूहभित्र योगेश भट्टराईले धोका दिएको निष्कर्ष निकालिएको छ । कतिपय सूचनाहरु चुहिएकोबारे समेत समिक्षा हुनथालेको छ ।