प्रधानमन्त्रीको उपचार गर्ने डाक्टरले पाए यति ठुलो सम्मान

काठमाडौं। सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणदेखि हालसम्मको जटिल उपचारमा संलग्न चिकित्सकहरूलाई सुप्रसिद्ध प्रवल जनसेवा श्री प्रथम श्रेणीको विभूषणबाट सम्मानित गर्ने भएको छ ।

संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित हुन लागेकामा प्रधानमन्त्रीकी निजी चिकित्सक डा.दिव्या सिंह शाह पहिलो नम्बरमा छिन् । उनलाई प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराभन्दा पनि माथिल्लो तहमा राखेर विभूषित गरिएको छ ।

सुप्रसिद्ध प्रवल जनसेवा श्री पदकबाट विभूषित हुनेको दोस्रो नम्बरमा पर्यटन व्यवसायी स्वर्गीय आङ्छिरिङ शेर्पा र तेस्रो नम्बरमा प्रधानन्यायाधीश राणा छन् । त्यस्तै, सबैभन्दा माथिल्लो श्रेणीको महाउज्ज्वल राष्ट्रदीपबाट मरणोपरान्त साहित्यकार मदनमणि दीक्षित र तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई सम्मानित गरिने भएको छ ।

प्रधानमन्त्रीको उपचारमा संलग्न नेसनल युनिभर्सिटी अस्पताल, सिंगापुरका डाक्टर अनन्थरमण बत्सला, डिपार्टमेन्ट अफ युरोलोजी तथा रेनल ट्रान्सप्लान्ट अस्पताल दिल्लीका अध्यक्ष प्राध्यापक डा.अनन्त कुमारको नाम सुप्रसिद्ध जनसेवा श्रीबाट विभूषित हुनेको सूचीमा छ ।

दिल्लीस्थित इन्ष्टिच्युट अफ एण्डल्ट रिसन्स्ट्रक्सन, स्पोर्टस इन्जुरी एण्ड जोइन्ट रिप्लेसमेन्ट दिल्लीका अध्यक्ष डा.राजीव कुमार शर्मा र एपोलो अस्पतालका प्रमुख डा.हर्ष दुवा पनि सोही पदकबाट हुँदैछन् । त्यस्तै, अस्ट्रेलियाको मेलवर्नका डाक्टर डेभिड फ्रान्सिस पनि विभूषित गरिँदै छ ।