भोकालाई गाँस पुर्‍याउँदै उपकारी

कैदी बन्दीका सन्तानहरूलाई आश्रय दिने बन्दी सहायता गृह चलाइरहेकी इन्दिरा रानामगर हरेक दिन २ बजे एउटा ट्याक्सी र एउटा सानो ट्रकभरि खानाको प्याकेट बोकेर सुनसान सडकमा निस्कन्छिन् । सडकमा भोजनको खोजीमा आज कति आउलान् ? तिनलाई खानाको प्याकेट पुग्ला कि नपुग्ला भन्ने चिन्ताबाटै उनको बिहान सुरु हुन्छ ।

इन्दिराका अनुसार लकडाउनको पहिलो सातातिर दुई/तीन सयलाई खाना खुवाए पुग्थ्यो । तर संख्या हिजोआज बढेर एक हजार नाघिसकेको छ । उनले भनिन् ‘सुरुसुरुमा सडकमा आश्रितहरूलाई मात्रै खुवाए पुग्थ्यो । अहिले त ज्याला मजदुरी गर्नेहरू पनि खानेकुरा खोज्दै सडकमा आउन थालिसकेका छन् ।’

दिउँसो थापाथलीको प्रसूति गृहपछाडिको चौरमा खाना बाँडेर इन्दिरा दरबारमार्ग, ठमेल, ठहिटी र बालाजुसम्मै पुग्छिन् । दिनको तीन पटक खाना ओसारेर साँझ घर पुगेपछि पनि उनको काम सकिँदैन । राति ८ बजे सोह्रखुट्टे चोकमा सडकमा १० जना उनले कतिबेला खाना ल्याउलिन् र पेट भर्न पाइएला भनेर कुरिबसेका हुन्छन् ।

गत वर्षको मंसिरमा काठमाडौं महानगरपालिकाले ७६ औं महानगर दिवसका अवसरमा सडक मानवमुक्त बनाउने तीनमहिने अभियान सुरु गरेको घोषणा गरेको कति महिना बिते भनेर इन्दिराले हिसाब गरेकी छैनन् । उनलाई यतिचाहिँ थाहा छ, लकडाउन लम्बिँदै जाँदा सडकमा खानाको खोजीमा निस्कनेहरूको संख्या बढ्दै जानेछ ।

त्यसो त गत वर्षको ४ कात्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अब सडकमा कोही सुतेको, जिग्रिङ्ग भएर बसेको देख्न नपर्ने भन्दै भनेका थिए, ‘अब नो स्ट्रिट पिपुल ।’ त्यसो त गत वर्षको वैशाख १५ मा त प्रधानमन्त्री ओलीले कसैले सडक मानव देखे आफूलाई फोन गर्न आग्रह नै गरेका थिए ।

सरकारले नै सडक मानवमुक्त राख्ने र भोकाहरू हटाउने निर्णय गरेपछि लकडाउन पछिका दिनहरूमा भोकले व्याकुल भएर भोजनको खोजीमा हिँड्नेहरूको संख्या प्रत्येक दिन बढ्दो छ । सरकारी घोषणा कहिले कार्यान्वयन होला भनेर प्रश्न नगरी इन्दिरा रानामगरहरू भने भोकालाई भोजन बाँड्दै हिँडेका छन् ।

इन्दिराले भनिन्, ‘कतिपय ठाउँमा त आफ्नो टोलमा खाना खुवाएको भनेर स्थानीयले हप्कीदप्की पनि गरिरहेका छन् ।’ आइतबार त उनले दरबारमार्गमा खाना बाढिरहेका बेला मोटरसाइकलमा आएका दुई जनाले आफूहरू क्लबको मान्छे बताउँदै सडकमा खाना बाँडे गाडी जलाइदिने भन्दै धम्की दिएर गए ।

त्यस्तै धम्की इन्दिराले केही दिनअघि पनि दरबारमार्गमै पाएकी थिइन् । उनले भनिन्, ‘मान्छेहरू भोकभोकै हिँडिरहेका छन् । कोहीलाई भने आफ्नो ठाउँमा फोहोर होला कि भन्ने चिन्ता छ । जबकि मैले प्याकेटमा बाँडेको खाना कसैले पनि बाँडेको ठाउँमा बसेर खाँदैनन् ।’

प्रशासनिक उल्झन, स्थानीयको असहयोगका बाबजुद पनि इन्दिराले भोकाहरूलाई निरन्तर खाना खुवाइरहेकी छन् । उनले थापाथलीमा बाँडेका बेला कीर्तिपुर, कालीमाटी र कलंकीदेखि खानाको खोजीमा हिँड्दै आउनेहरू आफूले भेटेको बताइन् । भनिन्, ‘दिनदिनै खानाको अभाव खेप्नेहरूको संख्या बढेको बढ्यै छ ।’

अंशु यादवसहितका साथीहरूले नि:शुल्क भोजन सेवामार्फत अहिले काठमाडौंका विभिन्न स्थानमा सित्तै दुई छाक खुवाइरहेका छन् । उनीहरुमार्फत अहिले दैनिक करिब ४ सयले खाना खाइरहेका छन् । अंशुको समूहले थापाथलीमा साढे ४ बजे खाना बाँड्छन्, अनि साँझ ढल्केपछि विभिन्न पाटी, मन्दिर र पुलमुनि बस्नेहरूलाई बाँड्दै हिँड्छन् ।

सडकमा आश्रित, दैनिक ज्याला मजदुरीको भरमा छाक टार्नेहरू हरेक दिन खानाको खोजीमा निस्कनुपर्ने बाध्यता बढ्दै छ । शनिबार त १५ दिने एक सुत्केरी महिला नवजात शिशु च्यापेर खाना खोज्दै आएको उनले सुनाए । ‘लकडाउनको सुरुवाती दिनमा भन्दा पछिल्ला दिनमा खानाको खोजीमा आउने नयाँ अनुहारहरू थपिएको छ,’ उनले भने ।

अंशुका अनुसार जसरी कोभिड संक्रमितहरूको संख्या बढिरहेको छ, त्यसैगरी भोकाको संख्या पनि बढेको छ । उनले भने ‘यस्तै हो भने दुई सातापछि हामीले पनि खाना खुवाउन नसक्ने अवस्था आउँछ ।’

उनले शनिबारको एउटा घटना सुनाए । ललितपुरको लुभुबाट ७४ वर्षीय एकजना बुबा खानाको खोजीमा हिँड्दै थापाथली आएका थिए । तिनले एक छाक खाएर घर फर्किंदा खाएको सबै बाटोमै पच्ने र घर पुग्दा फेरि भोक लागिहाल्ने बताएपछि अंशुसहितका साथीहरूले एक बोरा चामल, दाल र सिलिन्डर दिएर पठाइदिए ।

हन्ड्रेड समूहले लकडाउनयता हरेक दिन २:४० बजेबाट पशुपतिमा नियमित खाना खुवाइरहेको छ । समूहमार्फत सक्रिय बब्लु गुप्ताका अनुसार उनीहरूले सुरुवाती दिनमा ५०/६० लाई मात्रै खाना खुवाइरहेकोमा अहिले त्यो संख्या बढेर साढे चारदेखि ५ सय पुगिसकेको छ ।

‘सुरुवातमा त सडकमा आश्रितहरू मात्रै खाना खान आउँथे,’ उनले भने, ‘अहिले त डेरामा बस्नेहरू दाल चामलको अभाव भएपछि खाना खोज्दै आउन थालिसकेका छन् ।’ दैनिक ज्याला मजदुरीको भरमा छाक टार्नेहरू भातको खोजीमा हिँड्नुपर्ने भइसकेको पाएको उनले सुनाए ।

बब्लुले आइतबार एक महिना नवजात शिशु च्यापेर खानाको खोजीमा पशुपति आएको भेटे । ती महिलाको साथमा अन्य दुई साना छोरीहरू पनि थिए । ज्याला मजदुरी गर्न ओखलढुंगा गएका श्रीमान उतै अड्केको र आफ्ना साथमा भएको पैसा सकिएपछि बेखर्ची भएको उनी बताएकी थिइन् ।

घरबेटीले पनि कोठा छोड्न दबाब दिएपछि र कोठामा खानेकुरा केही नभएपछि पशुपति पुगेकी ती महिलालाई बब्लुले केही रकम र खाद्यान्न दिएर पठाए । बब्लुले सुनाए, ‘समयमै नसोच्ने हो भने एक दिन सडकमा खाना खोज्दै आउनेहरूको संख्या थामी नसक्नुहुन्छ ।’