कोरोना जितेलगत्तै सडकमा, भोका जनावरदेखि मानिसको सेवामा

२०७६ चैतमा लकडाउन भएसँगै काठमाडौँ ठप्प भयो । होटल–रेस्टुरेन्ट बन्द भए । कोरोनाको त्रास चौतर्फी थियो । सडकका जनावर भोकले मर्नुपर्ने अवस्थामा पुगे ।

काठमाडौँ कमलपोखरीका सौरभ रिमालको मनले घरभित्रै थुनिएर बस्न मानेन, पशुपन्छीलाई खाना खुवाउन उनी गाडी लिएर बाहिर निस्किए ।

त्यतिबेला कतिपयले ‘घरबाहिर निस्कँदा रोग सर्छ’, ‘नजिक जाँदा जनावरले टोक्छन्’ भन्दै निरुत्साहित गर्न नखोजेका होइनन् । तर कसैले भनेको उनले टेरेनन् । आफ्नै खर्चमा खानेकुरा किन्दै सडकका भोका जनावर र मानिसको सेवा लागे ।

जनावरसँगको त्यो प्रेम बाल्यकालदेखिकै हो । वयस्क भएपछि उनले जापानिज स्पिट्स् प्रजातिको कुकुर पनि पालेका थिए । उक्त कुकुर उनको एक दशकयताको साथी थियो ।

‘म जता गयो, त्यतै जानुपर्ने, जे खायो, त्यही खानुपर्ने,’ सौरभले भने, ‘लकडाउन सुरु हुँदा आफ्नो कुकुरलाई त खुवाइयो, सडकका कुकुर र गाईबाच्छाले के खाए होलान् भन्ने लाग्थ्यो ।

यही अवधिमा एक दिन मेरो कुकुर बित्यो । उमेर पुगेर बितेको भन्ने थाहा हुँदाहुँदै पनि पीडा हुने रहेछ । त्यो एक्लोपन, रिक्तता र पीडाले पशुपन्छीको सेवामा अझै सक्रिय हुन प्रेरित ग¥यो ।’

पशुपन्छी मात्रै नभएर उनले मानिसहरुलाई पनि राहत पुर्‍याउँछन् ।

लकडाउनको खाली समय समाजसेवामा लाग्ने र जनजीवन सामान्यमा फर्किएपछि आफ्नो पुरानै दैनिकीमा फर्कने योजना थियो । तर सहायताको हात जति फैलायो उति नै धेरै समस्या पहिचान हुन थाल्यो र साथ दिनेहरु पनि भेटिए ।

‘मानिस र जनावरसँग यस्तो भावनात्मक सम्बन्ध बन्यो कि भाग्नै सकिएन । समस्या धेरै भएकाले हामीमध्ये कोही एकजनाले मात्रै समाधान खोज्नै सक्दैन । समाजका हरेक व्यक्तिले आफ्नो तर्फबाट सानो सानो सहयोग गर्ने हो भने केही हुनसक्छ,’ उनले भने ।

अहिले डल्ले रेस्टुरेन्टका आलोक योञ्जनसहित स्वयंसेवकहरूको टोली नै लिएर उनी खाद्यान्न वितरणमा निस्किने गरेका छन् । ‘कोइराला फाउन्डेसन’ स्थापना गरेर उनीहरुले यस कार्यलाई संस्थागत रूपमै अघि बढाउने प्रयास थालेका छन् ।

यो टोलीले अहिले ठूलो सङ्ख्यामा गाईबाच्छा, कुकुर, बाँदर र परेवालाई खाद्यान्नको प्रबन्ध गरिरहेको छ । पहिले र अहिलेको लकडाउनसमेत जोड्दा कुल ५ हजार मानिसलाई राहत बाँडिसकेका छन् ।

‘आम रूपमा कुरा गर्दा हामी पैसा र आफ्नो करियर सोचेर अघि बढ्छौँ । तर यदि हामी सबैले दैनिक रूपमा ५ वा १० मिनेट मात्रै पनि राम्रो नियतले अरूका लागि सोचिदियौँ भने हाम्रा समाजका धेरै समस्या न्यूनीकरण हुनसक्छन्,’ काठमाडौँ कमलपोखरीका रिमालले भने ।

भृकुटीमण्डप, आरएनएसी, गोंगबु, स्वयम्भूलगायत काठमाडौँका विविध स्थानमा उनीहरुले जनावर र मानिसहरुलाई भोजन गराउँदै आएका छन् । यी क्षेत्रमा उनको गाडी रोकिनासाथ कुकुर तथा बाँदरहरु पछ्याउन आइसकेका हुन्छन् ।

‘लकडाउन नहुँदा फोहोर खाएर जीवन चलाउने गाईबाच्छाले अहिले त्यो पनि नपाउने अवस्था भयो । काठमाडौँमा हरियाली छैन, बाच्छाहरु भित्तामा जिब्रो चाटेर बसेको मैले देखेको छु,’ ।

उनले भने, ‘आखिर हाम्रै भान्साबाट निस्कने बढी भएका खानेकुरा, हामीले दिने अन्नपात वा फोहोर खाएर यी जनावरले गुजारा टार्ने हुन् । तर अहिले लकडाउनले त्यसको पनि अभाव भयो ।’

उनले थपे, ‘मानिसका सवालमा गरिखाने वर्गलाई लकडाउनले ठूलो मार पारेको छ । गत लकडाउनमा एकजना भरियाकर्म गर्ने दाइ नाम्लोसँगै कहिल्यै नउठ्नेगरी ढलेको फोटो देख्नुभयो होला ।

मनै रुवाउने दर्दनाक कथा र दयनीय समयको साक्षी हामी बनिरहेका छौँ । टुलुटुलु हेरेरै मात्र बस्ने वा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने भन्ने हो,’ लकडाउनका कारण बेरोजगारी बढ्दा भोकभोकै बस्नुपर्ने अवस्थामा पुगेकामध्ये केहीलाई सौरभले सडक वरपर भेट्छन्, कतिपयले अन्य सम्पर्क व्यक्तिमार्फत त कोहीले आफैँ फोन गरेर राहत माग्ने गरेका छन् ।

‘हाम्रो टोलीले १५ दिनका लागि पुग्ने रासन प्याकेजमा दिने गरेका छौँ । तर १५ दिन नपुग्दै फेरि फोन आइपुग्छ । यो एउटा विश्वास र माया पनि हो । बाध्यता पनि हो,’ उनले भने ।

अस्पतालबाट निस्कनासाथ समाजसेवामा

यसपटक लकडाउन हुनुभन्दा दुई दिनअघि सौरभ आफैँ कोरोना सङ्क्रमित भए र अस्पताल भर्ना भए । १६ दिनपछि कोरोनामुक्त हुनासाथ फेरि सोझै गाडी लिएर पशुपन्छीलाई खाना खुवाउन हिँडे ।

‘अब यस कार्यमा धेरै लगाव जोडिइसक्यो । हामीलाई धेरै नेपालीले विश्वास गरेर सहयोगको हात बढाउनु भएको छ । उहाँहरुको प्रोत्साहनलाई ध्यानमा राखेर भविष्यमा पनि अब यस कर्मलाई जारी राख्ने योजना बनाइसकेका छौँ,’ रिमालले भने, ‘महामारीको त्रास र लकडाउनले सबैलाई कठिन अवस्थामा ल्याइसकेको छ ।

मान्छेको जिन्दगी के नै रहेछ ! भन्ने भइसक्यो । यस्तोमा घरमै बसेर गर्न सकिने राम्रा काम धेरै छन् । बढी भएको खाना छुट्याएर घरबाहिर राखिदियो भनेर पनि कुकुरहरु वा चराले आएर खान्छन् । बढी भएको तरकारी, अन्नपात पनि त्यसरी नै बाहिर राखिदिन सक्नुहुन्छ । यो समय सबैलाई सहयोगको खाँचो छ ।’

३२ वर्षीय रिमाल डिस्कभर सिटी प्राइभेट लिमिटेड नामक टेक कम्पनीका संस्थापकसमेत हुन् । त्यहाँ ५० जनाभन्दा धेरैले प्रत्यक्ष रोजगारी पाएका छन् ।