ओलीले गाडी पठाएपछि बालुवाटार आए राणा, प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाबीच छलफल भएको छ । प्रधानमन्त्री ओलीले आफैँ सवारी पठाएर प्रधानन्याधीश राणालाई छलफलका लागि बालुवाटार बोलाएका हुन् ।

प्र्र्रधानन्यायाधीश राणा बालुवाटारको ३ नम्बर गेट हुँदै प्रवेश गर्नुभएको बालुवाटार निकट स्रोतले पुष्टि गर्यो । प्रधान्यायाधीश राणा आधा घण्टा अघि बालुवाटार प्रवेश गर्नुभएको हो ।

विपक्षी गठबन्धनका १ सय ४६ निवर्तमान सांसदले प्रतिनिधिसभा विघटनको निर्णय बदरको माग गर्दै रिट निवेदन दर्ता गराएकै दिन प्रधाननमन्त्रीले प्रधानन्यायाधीश राणासँग भेट गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

त्यस्तै नागरिकता सम्बन्धी ऐन संशोधन गर्न ल्याइएको अध्यादेश बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। सोमबार अधिवक्ताहरु वोर्ण बहादुर कार्की, बालकृष्ण न्यौपाने, विजय प्रकाश मिश्र र डम्बर विक्रम कार्कीले दायर गरेको रिटमा अध्यादेश संविधानसँग बाझिएको भन्दै उत्प्रेषणको आदेशद्वारा अमान्य र बदर गर्न माग गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृहमन्त्रालयलाई विपक्षीय बनाइएको रिटमा अध्यादेशमार्फत थपिएका सबै दफा तथा उपदफा बदर गर्न माग गरिएको छ। नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न संसदमा छलफल समेत सकिएर पारित हुन बाँकी रहेको विधेयक रहेको भन्दै अध्यादेश ल्याउन उचित नुहने उनीहरुको तर्क छ ।

यस्तै सत्तासँग नागरिकता जस्तो विषयमा सम्झौता गरेको समेत आरोप लगाइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । अध्यादेशमा जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको नागरिकता दिने व्यवस्था गरिएको छ।