युट्युबलाई पनि अब प्रेस काउन्सिलले सूचिकरण गर्ने, संस्थाका मुखपत्र अनलाइनलाई दर्ता नगरिने

प्रेस काउन्सिल नेपालले युट्युब तथा अनलाइन टिभीका रुपमा सन्चालित सन्चार माध्यमलाई पनि अब सूचिकरण गर्ने भएको छ।

प्रेस काउन्सिलको सोमबार बसेको बैठकले युट्युब/अनलाइन टिभीलाई सूचिकरण हुन आह्वान गर्ने र त्यसअघि यस्ता सन्चार माध्यमलाई नियमन गर्न नीतिगत निर्णयका लागि सन्चार मन्त्रालयलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ।

काउन्सिलले कुनै संस्थाको मुखपत्रका रुपमा सन्चालित अनलाइनको दर्ता/सूचिकरण नगर्ने र सूचना विभागलाई पनि दर्ता नगर्न आग्रह गर्ने निर्णय गरेको काउन्सिलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

काउन्सिलले कोरोना महामारीका कारण मिडिया तथा पत्रकारलाई परेको समस्या र पत्रकार आचारसंहिता उल्लंघनका घटनाको अवस्था अध्ययन गर्न प्रदेशगत रुपमा समिति बनाइ १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिने निर्णय पनि गरेको छ। काउन्सिलले कोरोना पीडित पत्रकार तथा ज्यान गुमाएकाको हकमा उनीहरुका आफन्तलाई राहत तथा स्वास्थ्य सामग्री, नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायसँग पहल गर्ने पनि निर्णय गरेको छ।