केपी गुटको फुटवादकै निरन्तरता हो , हामीलाई पार्टीबाट निष्कासित गरियो भन्नु हास्यास्पद : भीम रावल

नेकपा एमालेका नेता भीम रावलले आफूहरुलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद भएको बताएका छन् ।

सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले रावललगायत वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको थियो ।

त्यसलगत्तै सामाजिक सञ्जाल ट्वीटरमा रावलले देशलाई अस्तव्यस्त बनाउने केपी ओली गुटले आफूहरुलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद भएको बताएका हुन् । ‘पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने, देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ ।

यो केपी गुटको फुटवादकै निरन्तरता हो,’ रावलले लेखेका छन् । सोमबारको स्थायी कमिटी बैठकले प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने र उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दे सर्वोच्चमा रिट दायर गर्ने २३ मध्येका ११ सांसदलाई पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको हो ।

पार्टीबाट निष्कासित हुनेमा वरिष्ठ नेता खनाल नेपालसहित रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खातुन, लक्ष्मी कुमारी चौधरी, निरादेवी जैरु रहेका छन् ।