सेनाले पठाएको २ बाकस जवाफ सार्वजनिक लेखा समितिको हलमा

नेपाली सेनाले काठमाडौं–तराई द्रूतमार्ग (फास्ट ट्रयाक) ठेक्का सम्बन्धमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिलाई पठाएको २ बाकस जवाफ हलमा थन्किएको छ ।

राजनीतिक दलले प्रयोग गर्ने र विभिन्न व्यक्तिको सहज पहुँच हुने लेखा समितिको हलको कुनामा सेनाले पठाएको जवाफका २ बाकस राखिएका छन् । यसअघि दिएको निर्देशन पुनर्विचार गर्न सेनाले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिलाई आग्रह गरेको थियो ।

सेनाले आग्रहसँगै समितिले मागेका आवश्यक कागजात र प्रमाणहरू २ बाकसमा पठाएको थियो । नेपाली सेनाले रक्षा मन्त्रालयमार्फत लेखा समितिलाई पत्र पठाएर यसअघिको निर्णय पुनर्विचार गर्न आग्रह गरेको हो । रक्षा मन्त्रालयले वैशाख २१ गतेको मितिमा लेखालाई पत्र पठाई सेनाको आग्रहअनुसार पुरानो निर्णय पुनर्विचार गर्न आग्रह गरेको थियो ।

लेखा समितिले ठेक्का प्रक्रिया रद्द गर्न निर्देशन दिएको थियो । प्रधानसेनापति पूर्णचन्द्र थापाले वैशाख १९ गते लेखाको निर्णय पुनर्विचार गर्न आग्रह गर्दै रक्षा मन्त्रालयलाई पत्र लेखेका थिए । समितिको निर्देशनविपरीत सेनाले तराई–फास्ट ट्रयाकको पुल र सुरुङ निर्माणका लागि दोस्रो प्याकेजको ठेक्का लगाएको खबर बाहिर आएका थिए ।

फास्ट ट्रयाकको पुल र सुरुङ निर्माणका लागि दोस्रो प्याकेजको टेन्डर रद्द गर्न यसअघि दिएको निर्देशन नमानेपछि लेखा समितिले वैशाख १५ गते सेनालाई पत्र पठाएर रोक्न ताकेता गरेको थियो ।