जसपाका चार मन्त्री राष्ट्रिय सभाको उपनिर्वाचनमा मतदान गर्नबाट वञ्चित

शंकर पोखरेल नेतृत्वमा मन्त्री बनेका जनता समाजवादी पाटीका चार प्रदेशसभा सदस्यले लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा मतदान गर्न नपाउने भएका छन् । एक पदका लागि यही जेठ १७ गते राष्ट्रिय सभा सदस्य उपनिर्वाचन हुँदैछ ।

सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका चार प्रदेश सभा सदस्यहरुमाथिको कारबाही यथास्थितिमा राख्न अन्तरीम आदेश जारी गरेपनि निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा उनीहरुको नाम राखेको छैन। निर्वाचन आयोगको गरेको अन्तिम मतदाता नामावलीमा प्रदेशसभा सदस्यबाट ७९ जनाको मात्रै नाम छ। जसमा जनता समाजवादी पार्टीले कारबाही गरेका प्रदेशका मन्त्री कल्पना पाण्डे, सन्तोष कुमार पाण्डे, विजय बहादुर यादव र सुमन शर्मा रायमाझीको नाम छैन।

सर्वोच्चले ३ जेठमा उनीहरूलाई कारबाही गर्ने निर्णय १६ जेठसम्मका लागि कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो। सर्वोच्च अदालतको आदेशपछि उनीहरू अहिले प्रदेश सभा सदस्यको हैसियतमा छन्। तर, प्रदेश सभाले त्यसअघि नै ८७ प्रदेश सभा सदस्य हुनुपर्नेमा जसपाले कारबाही गरेका चार जना, माओवादीले कारबाही गरेका दुई जना, र एमालेबाट राजीनामा गरेका दुई जना गरी आठ जना प्रदेश सभा सदस्यको पद रिक्त भएको पत्र निर्वाचन आयोगलाई पठाएको थियो।

प्रदेशसभा सचिवालयले पठाएको पत्रका आधारमा अन्तिम मतदाता नामावली प्रकाशन गरिएको प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेशका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए। लुम्बिनीमा २ सय ९६ मतदाता छन्। जसमा प्रदेशसभा सदस्य ७९ र स्थानीय तहका प्रमुख–उपप्रमुख २ सय १७ जनाले मतदान गर्ने छन्। राष्ट्रिय सभा सदस्य अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा उक्त पद रिक्त भएको थियो। यसपाली नेकपा एमालेबाट तिनै चन्द्रबहादुर खड्का र गठबन्दनबाट दृगनारायण पाण्डे उमेदवार बनेका छन्।

गठवन्दनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टीको (उपेन्द्र समूह) को समर्थन छ। विपक्षी गठवन्दनका उमेद्वार पाण्डेय गत निर्वाचनमा एमालेको तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। मुख्यमन्त्री शंकर पोखरेल दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै उनले प्रदेश सभाबाट राजीनामा दिइ नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। उनको राजीनामापछि राष्ट्रिय सभाको उमेद्वार बनाउनेबारे गठबन्दनले सामुहिक निर्णय गरेको थियो। उपनिर्वाचनका लागि दाङको घोराहीस्थित कर्मचारी मिलनकेन्द्रमा मतदानस्थल तोकिएको छ।

बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। जसमा तीनवटा मतदान केन्द्र छन्। एउटालाई कोभिड संक्रमितका लागि छुट्याएको सूचना अधिकारी कुँवरले बताए।