मलाई गृह मन्त्री नै चाहिन्छ – राजेन्द्र महतो

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अप्ठेरोमा अवस्थामा सघाएपछि जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा जान तम्तयार बनेको छ। अहिले सरकारमा आफूले पाउने मन्त्रालयका लागि प्रधानमन्त्री ओलीसँग जसपाका नेताहरुको ‘बार्गेनिङ’ चलिरहेको छ।

महन्थ–राजेन्द्र पक्षले नेता राजेन्द्र महतोकै नेतृत्वम सरकारमा जाने तयारी गरिरहेको छ। जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले गृह मन्त्रालयका लागि ‘बार्गेनिङ’ गरिरहेका छ्न्।

यसअघि तीनपटक उद्योग, वाणिज्य तथा आपूर्ति र एकपटक स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हालिसकेका महतोले प्रधानमन्त्री ओलीसँग आफूले गृह मन्त्रालय पाउनु पर्ने दाबी गरेका हुन्।

‘महतोजीले मलाई गृह मन्त्रालय चाहिन्छ भनिरहनु भएको छ। आफ्नो दाबी छोड्नु भएको छैन’, जसपाको महन्थ-राजेन्द्रपक्षका एक सांसदले भने, ‘प्रधानमन्त्रीज्यूले गृह मन्त्रालय दिने विषयमा केही प्रतिक्रिया दिनु भएको छैन।’

जसपा महतोकै नेतृत्वमा सरकारमा जाने भएपछि आफ्नो तर्फबाट गृह मन्त्रालयको दाबी गरिरहेको छ। जसपाले ८ मन्त्री र २ राज्यमन्त्री पाउनेगरी ओलीसँग संवाद जारी राखेको छ।