नागरिकता अध्यादेश खारेज गर्न जनमोर्चाको माग

काठमाडौं- राष्ट्रिय जनमोर्चाले नागरिकता सम्बन्धी अध्यादेश खारेज गर्न माग गरेको छ। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको ‘नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८’लाई खारेज गर्न जनमोर्चाले माग गरेको हो।

नागरिकता प्राप्तिका लागि अध्यादेशद्वारा अगाडि सारिएका प्रावधान राष्ट्रघाती रहेका जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। बाबुको पहिचान हुन नसकेका नेपाली नागरिकका आमाका सन्तानलाई वंशजको नागरिकता दिने प्रावधानले देशको राष्ट्रियता तथा सार्वभौमसत्ता र अखण्डतामा गम्भीर आँच पुग्ने राजमोको भनाइ छ।

‘जन्मको आधारमा लाखौँ गैरनेपालीले नागरिकता लिन सफल भएका कारण त्यसमा छानबिन हुनु पर्ने र गैरनेपालीहरुले प्राप्त गरेका नेपाली नागरिकता खारेज हुनु पर्ने माग राख्दै संविधानसभा भित्र पनि संघर्ष गरेका थियाै’, विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्री ओलीले नागरिकतालाई सत्ता संरक्षणको औजार बनाएर राष्ट्रियतासँग सौदाबाजी गरेको जनमोर्चाको टिप्पणी छ।