प्रधानमन्त्री ओलीका वकिलले पनि हाले राष्ट्रपति भण्डारीविरुद्ध रिट

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध केपी शर्मा ओलीनिकटका वकिलले समेत रिट दायर गरेका छन्।

अधिवक्ता राजाराम घिमिरेले राष्ट्रपति भण्डारीको निर्णय गैरसंसदीय, गैरसंवैधानिक र अलोकातान्त्रिक भएको भन्दै बदरको माग गरेका छन्। उनले यसअघि पुस ५ गते भएको संसद् विघटनको मुद्दामा ओलीको तर्फबाट बहस गरेका थिए।

२०७८ साल जेठ ७ गते भएको संसद् विघटन गर्ने राष्ट्रपतिको निर्णय भने नेपालको संविधानको व्यवस्था र मर्मअनुसार नभएको भन्दै बदर गर्न घिमिरेले माग गरेका छन्। राष्ट्रपतिलाई विपक्षी बनाएर दायर गरिएको रिटमा उनले केपी ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरेका छन्।

नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता र जनता समाजवादी नेपालका अध्यक्ष तथा संसदीय दलका नेताले स्पष्ट रुपमा सरकार गठनका लागि आवश्यक संख्या राष्ट्रपतिलाई पेस गरिसकेको उनको रिटमा उल्लेख छ।

यो अवस्थामा दाबी नपुग्ने गरी भएको निर्णय गैरसंसदीय, गैरसंवैधानिक र अलोकातान्त्रिक भएकाले बदर गर्न माग गरिएको छ।