ज्यानमारा परेवा भीरमा बन्यो सडक, चार महिनामा ६० प्रतिशत काम सम्पन्न

हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी बजारबाट दुर्गम गाउँहरु हुँदै धादिङको मलेखु जोड्ने सडक खण्डमा पर्ने बहुचर्चित परेवाभीर खण्डमा ६० प्रतिशत काम सकिएको छ ।
राक्सिराङ गाउँपालिका ४ स्थित परेवाभीर खण्डमा भएको भौतिक प्रगतिसँगै आउने बर्षायाममा पैदल यात्रुले परेवाभीरबाट लडेर मर्नुपर्ने बाध्यताबाट मुक्ति पाउने ग्यारेन्टी भएको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले दाबी गर्नुभयो ।

परेवाभीरको फेदी ४२० मिटर लम्बाई र ७ मिटर उचाईसहित बलियो कंक्रिट पर्खाल निर्माण भएको छ । रडसहितको कंक्रिट पर्खालमा जाली समेत भरेर बनाइएको जगको गहिराई (जग) नै र ३.५ रहेको इन्जिनियर शर्मिला पौडेलले जानकारी दिनुभयो । पर्खाल पूर्ण रुपमा तयार हुँदा उचाई ७ मिटर हुने उहाँले बताउनुभयो । बलियो फाउण्डेसनसहितको पर्खालमा यसै बर्ष ग्राभेल भरेर बाटो सञ्चालन गर्ने तयारी भएको गाउँपालिका अध्यक्ष मल्लले बताउनुभयो ।

‘यो बर्खामा मोटर नै त सञ्चालन गर्न नसकिएला, तर परेवाभीरबाट लडेर कसैले मर्नुपर्दैन’,अध्यक्ष मल्लले भन्नुभयो । यसअघि परेवाभीरको पैदल बाटो भएर हिँड्ने यात्रीहरु वर्सेनि भीरबाट खस्दा खोलाले बगाएर मर्ने गरेका घटना सार्बजनिक हुने गरेको थियो । राक्सिराङ गाउँपालिकाले दुई करोड रुपियाँ र अर्थ मन्त्रालयबाट ससर्त अनुदानमा प्राप्त २ करोड रुपियाँ, सांसद विकास कोषको समेत रकम थप गरी परेवाभीर खण्डमा सडक निर्माण गर्न ठेक्का लगाइएको थियो ।

परेवाभीर खण्डमा पर्खाल निर्माण गरी बाटो निर्माण, भीरको ढुंगा कटिङ लगायत ६३० मिटर बाटो बनाउने कामका लागि कूल ६ करोड ६१ लाख ६९ हजार रुपियाँ लाग्ने बिस्तृत परियोजना प्रतिवेदन सार्बजनिक गरिएको थियो । सोही बमोजिम निकालिएको ठेक्कामा ४२० मिटर बलियो पर्खाल तथा ७०० सय घनमिटर बाटोको कटिङसहित कामका लागि ठेकेदार कम्पनीले ४ करोड ११ लाख रुपियाँमा ठेक्का सकार गरी काम गरिरहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिनुभयो ।

निर्माणकर्ता ठेकेदार कम्पनीसँग १८ महिनामा सडक हस्तान्तरण गर्नेगरी सम्झौता भएकाकामा चार महिनाकै अबधिमा ६० प्रतिशत प्रगति भएको र असार मसान्तसम्ममै शतिप्रतिशत काम सक्ने गरी तीब्र गतिमा काम भइरहेको ठेकेदार कम्पनी लामा बानियाँ जेभीले जनाएको छ । पूर्वपश्चिम राजमार्गको मनहरी बजारबाट धादिङको मलेखु जोड्नका लागि मनहरी–चैनपुर–बोटबारी–परेवाभीर हुँदै ५२ किलोमिटर मात्रै दुरी पर्दछ ।

अधिकाँश स्थानमा ट्रयाक खुलिसके पनि परेवाभीर र त्यससँगै रहेको घुमाउनेमा नयाँ ट्रयाक नखुलेका कारण यो सडक खण्ड सञ्चालनमा आउन सकेको छैन ।