‘ओलीलाई प्रधानमन्त्री बन्न प्रतिस्पर्धामा जाने हक नै थिएन’ – रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्रीका लागि प्रतिस्पर्धामा जाने हक नै नभएको बताएका छन्। सोमबार सर्वोच्च अदालत परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन्।

‘प्रधानमन्त्रीले म अब बहुमत देखाउन पनि सक्दिनँ, म बहुमत देखाउन पनि जाँदिनँ भनेर मन्त्रिपरिषद्‌बाट निर्णय गरेर वैकल्पिक सरकार गठन गर्नका लागि राष्ट्रपतिलाई अनुरोध गरेर वैकल्पिक सरकार गठन गर्नका लागि प्रक्रिया शुरु गर्नुस् भन्नुभयो। तर, उहाँ आफैं म प्रधानमन्त्री हुन्छु, बहुमत देखाउँछु भनेर राष्ट्रपतिजीकहाँ जानुभयो।

वास्तवमा उहाँले वैकल्पिक सरकारका लागि प्रक्रिया शुरु गर्न भनेर राष्ट्रपतिजीलाई भनिसकेपछि उहाँ नै फेरि प्रतिस्पर्धामा जाने हक पनि थिएन। अवस्था पनि थिएन’, उनले भने। वैधानिक दाबी भएको शेरबहादुर देउवालाई प्रधानमन्त्री ओलीको तुलना गरेर राष्ट्रपतिले गरेको निर्णय असंवैधानिक रहेको लेखकको भनाइ छ। ‘प्रधानमन्त्रीजी जुन आफैं वैधानिक रुपले प्रधानमन्त्री हुनुभएको थिएन।

उहाँले हठात् प्रतिनिधि सभाको विघटन गर्ने, प्रतिनिधि सभाको हत्या गर्ने गर्नुभएको हुनाले हामीले रिट दायर गर्नुपर्‍यो’, उनले भने। लेखकले मुख्यगरी दुइटा माग गरेर रिट दर्ता गरिएको बताए। ‘एउटा, संविधानसम्मत रुपले, संवैधानिक रुपले प्रतिनिधि सभाको तत्काल कायम संख्याको बहुमतको दाबी गरेर संविधान बमोजिम प्रधानमन्त्री हुनुपर्ने शेरबहादुर देउवाजीलाई प्रधामन्त्री नियुक्त गर्नका लागि आदेश माग्ने।

हामीले सर्वोच्च अदालतबाट त्यो अपेक्षा गरेका छौं। अर्को, असंवैधानिक ढंगले प्रतिनिधि सभाको विघटन भएको छ। त्यसको पुनर्गठनको दुइटा मूल माग लिएर हामी सर्वोच्च अदालतमा १४६ जना माननीयज्यूहरु आज आउनुभएको छ’, उनले भने।