पूर्वमन्त्री विष्टलाई तीन दिनदेखि उच्च ज्वरो

पूर्वमन्त्री गोकर्ण विष्टलाई उच्च ज्वरो आएकोले विगत तीनदेखि उनी घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ।

एमालेको माधवकुमार नेपाल समूहमा रहेका विष्टले संसद विघटन बदर र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा रिट हाल्न हस्ताक्षर गरेका छैनन्। विष्टले हस्ताक्षर नगरेपछि उनले निर्णय बदलेको चर्चा भइरहेको छ। तर उनको सचिवालले उच्च ज्वरो आएका कारण घरमै आराम गरिरहेको बताएको हो।

माननीय गोकर्ण विष्ट उच्च ज्वरोका कारण ३ दिनदेखि घरमै आराम गरिरहनुभएको सबैमा जानकारी गराउँदछु’, विष्टका प्रेस सल्लाहकार मदन खनालले भनेका छन्। यसअघि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दे राष्ट्रपति कार्यालयमा पेश गरिएको प्रस्तावमा विष्टले हस्ताक्षर गरेका थिए। यस्तै माधव समूहका अर्का एक सांसद पनि बिरामी भएका कारण हस्ताक्षर गर्न आउन नसकेको बताइएको छ।

सांसद झपट रावलले एक सांसदलाई पाखाला लागेकोले आउन नसकेको बताए। तर उनले ती सांसदको नाम खुलाउन चाहेनन्। यसअघि देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरेका माधव समूहका सांसदहरु गणेश पहाडी र पवित्रा निरौला खरेलले पनि रिटमा हस्ताक्षर गरेका छैनन्। सांसद योगेश भट्टराईले भने यसअघि पनि हस्ताक्षर गरेका थिएनन्।