संक्रमण फैलिन नदिन वडावडामा परीक्षण

समुदाय स्तरमा कोरोना संक्रमण बढेपछि सल्यानका स्थानीय तहले बल्ल परीक्षण थालेका छन् । गाउँगाउँमा ज्वरो र रुघाखोकीका बिरामी बढेपछि स्थानीय तहले वडास्तरमा कोरोना परीक्षणलाई तीव्रता दिएका हुन् ।

कोरोना संक्रमितको संख्या बढेपछि शिविर सञ्चालन गरी एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्न थालिएको हो । परीक्षणसँगै औषधि वितरण र कोरोनाबाट बच्ने उपायबारे सचेतना जगाउन थालिएको छ । छत्रेश्वरी गाउँपालिकाले सबै वडामा शिविर सञ्चालन गरी ४ सय ७१ जनाको स्वास्थ्य परीक्षण गरेको छ । सबै वडाका शुक्रबार र शनिबार शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए ।

अहिलेसम्म पालिकामा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ‘संक्रमण फैलिन नदिन समुदायस्तरमा परीक्षण थालेका हौं,’ उनले भने, ‘अन्य शंकास्पद बिरामीको पनि स्वास्थ्य परीक्षण गरिनेछ ।’ उनले सामान्य अवस्थाका संक्रमितलाई होम आइसोलेसनमा बस्न सुझाव दिएको बताए । उनका अनुसार जटिल समस्या देखिएका संक्रमितलाई भोटेचौरमा सञ्चालन गरिएको आइसोलेसनमा उपचार गरिनेछ ।

बन्गाडकुपिण्डे नगरपालिकाले पनि ४, ५, ७, ८ र ९ नम्बर वडामा शिविर सञ्चालन गरी स्थानीयको कोरोना परीक्षण गरिएको जनाएको छ । नगरपालिकामा अहिलेसम्म १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शिविरमार्फत २ सय ७५ जना शंकास्पद व्यक्तिको कोरोना परीक्षण गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक वासुदेव पोखरेलले बताए ।

उनका अनुसार शिविर सञ्चालन भएको स्थानसम्म पुग्न नसक्ने व्यक्तिको कोरोना परीक्षण गर्न स्वास्थ्यकर्मीलाई घरदैलोमै खटाइएको छ । ‘अधिकांश बिरामी होम आइसोलेसनमा छन्, उनीहरूलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखेका छौं,’ उनले भने, ‘थप संक्रमण बढ्न नदिन स्वास्थ्यकर्मीलाई परिचालन गरी विभिन्न रोगको उपचारमा तीव्रता दिइएको छ ।’

कपुरकोट गाउँपालिकाले १ हजार २ सय जनाको स्वास्थ्य परीक्षण गरेकोमा २ सय जना कोरोना पोजिटिभ देखिएको जनाएको छ । सदरमुकामस्थित शारदा नगरपालिकाले पनि परीक्षणका लागि गाउँमा स्वास्थ्यकर्मी खटाएको जनाएको छ । नगरपालिकाले ८ सय ४२ जनाको एन्टिजेन विधिबाट गरेको परीक्षणमा २ सय ५५ जनामा संक्रमण पुष्टि भएको थियो ।

जटिल संक्रमितलाई जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरिएको नगरप्रमुख सुरेश अधिकारीले बताए । उनका अनुसार अस्पतालमा थप २० शय्याको नयाँ आइसोलेसन निर्माण भइरहेको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार दार्मामा १ सय ८५ जना र कुमाखमा ३ सय १२ जनाको स्थानीय तहमार्फत कोरोना परीक्षण गरिएको छ ।

जसमध्ये दार्मामा २० र कुमाखमा १ सय २० जना नयाँ संक्रमित भेटिएका छन् । होम आइसोलेसनमा बसेका बिरामीलाई कुनै खतरा आउन नदिन चौबीसै घण्टा स्वास्थ्यकर्मी खटाएका छौं,’ दार्मा गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले भने, ‘संक्रमितको हौसला बढाउन जनप्रतिनिधिले पनि घरदैलो अभियान सुरु गरेका छौं ।’ जटिल समस्या देखिएका संक्रमितलाई जिल्ला अस्पतालको आइसोलेसनमा रेफर गरिएको उनले बताए ।