घरदैलो अभियानमा जुट्दै स्थानीय जनप्रतिनिधि

कोरोना संक्रमित भएर होम आइसोलेशनमा बस्दै आएकालाई स्वास्थ्य सामाग्रीसहित जनप्रतिनिधिहरू भेट्न थालेका छन् । उनीहरूको स्वास्थ्य अवस्था बुझ्न र आवश्यक स्वास्थ्य सामग्री, औषधि उपलब्ध गराउन घरदैलो अभियान सञ्चालन गरेका हुन् ।

दोस्रो लहरको कोरोना भाइरसबाट जिल्लाका एक हजार २२ जना संक्रमित भएका छन् । संक्रमितमध्ये दुई सय ९ निको भएका छन् । ४५ जना जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र दमौली अस्पतालको कोभिड उपचार केन्द्रमा उपचारत छन् भने अन्य संक्रमित होम आइसोलेसनमा छन् । वैशाखयता यहाँ कोरोना संक्रमणबाट २८ जनाको मृ’त्यु भएको छ ।

स्वास्थ्य सामान्य अवस्थामा रहेको भन्दै होम आइसोलेसनमा बसेकाको घरघरमा अहिले जनप्रतिनिधि पुग्ने गरेका छन् । संक्रमितको स्वास्थ्य अवस्था र समस्या बुझ्न घरदैलो कार्यक्रम चलाएको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताए । उनले भने, ‘केही औषधि लिएर स्वास्थ्य अवस्था बुझ्न जाने गरेका छौं । आवश्यक परेकालाई तत्काल औषधि पनि उपलब्ध गराउँछौं ।’

सम्बन्धित वडाध्यक्ष, सदस्य, स्वास्थ्य शाखा प्रमुखलगायतको टोली संक्रमितको घरदैलोमा पुग्ने गरेको उनले बताए । ‘यसरी जाँदा संक्रमितलाई के आवश्यक छ, स्वास्थ्य अवस्था के छ भन्दै यदि आवश्यक परे सम्बन्धित शाखाको सम्पर्क नम्बर छोडेर आएका छौं,’ थापाले भने, ‘के कस्तो पौष्टिक आहारा खाने भन्ने विषयमा पनि सल्लाह दिएका छौं । मनोबल बढ्ने सकारात्मक खालका समाचार हेर्न आग्रह गरेका छौं ।’

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर स्वास्थ्य सामग्रीसँगै संक्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिन संक्रमितको घरघर पुगेको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए ।

उनले भने, ‘घरदैलोकै क्रममा आँबुखैरेनी–३ का एक पुरुष कोरोना संक्रमितलाई उनकै घरमा अक्सिजनको व्यवस्थापनसमेत गरियो ।’ टोलीमा एक जना नर्स पनि छन् । नर्सले स्वास्थ्य अवस्था परीक्षण गर्ने र आवस्यक पर्ने वस्तु उपलब्ध गराउने उनले बताए । संक्रमितको घरदैलोमा पुग्दा उनीहरू खुसी हुने गरेको उनले सुनाए ।

स्वास्थ्यको विषयमा जानकार नहुँदा मानवीय क्षतिसमेत हुने गरेकाले संक्रमितको स्वास्थ्यस्थिति बुझ्न संक्रमितको घरमा जाने बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । जिल्लाका प्रत्येक पालिकाहरूले स्वास्थ्यकर्मी र अक्सिजनसहितका आइसोलेसन कक्षहरू तयार गरी संक्रमितलाई व्यवस्थानको तयारी गरेका छन् ।