प्रधानमन्त्री र राष्ट्रपतिबाट गणतन्त्र समाप्त पार्ने षडयन्त्र भएको कांग्रेस नेतृ पवित्रा लामाको आरोप

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ पवित्रा लामाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र नै समाप्त पार्ने गरी षडयन्त्र गरेको आरोप लगाएकी छिन् ।

उनले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा जनता सुतेको बेला मध्यराति प्रतिनिधिसभा विघटन गर्नु भनेको मिलेमतो भएको पनि टिप्पणी गरेकी छिन् । आज(सोमबार)रिपोर्टर्स क्लब नेपाललाई उनले यस्तो बताएकी हुन् ।

गणतन्त्र र संविधानको रक्षार्थ प्रधानमन्त्री र राष्ट्रपतिका कमदविरुद्ध राजनैतिक र न्यायिक लडाईँ लड्ने तथा सडकसम्म तताउने सक्ने उनले चेतावनीसमेत दिएकी छिन् ।

संसद् विघटन गर्ने कदमलाई असंवैधानिक र संविधानमाथिको प्रहारको संज्ञा दिँदै यो कदमको आफ्नो पार्टीले डटेर सामना गर्ने पनि उनले स्पष्ट पारेकी छिन् ।

उनले यस सन्दर्भमा भनिन्,‘

कोरोना कहरको चपेटामा परेका नेपाली जनताको रक्षामा लाग्नुपर्ने सरकार संविधानको मर्म र भावनाविपरीत अगाडि बढेको देखिन्छ, वर्तमान सरकार आफ्नो सत्ता संघर्षमा छ ।

ओलीलाई साक्षी राखेर महारानीबाट जनताले लेखेको संविधानको ह’त्या भएको छ । संविधानको उलंघन वा ह’त्या गर्ने अधिकार कसैको छैन् ।’

नयाँ सरकार गठन हुने अवस्था कायम रहेको जिकिर गर्दै प्रतिनिधिसभाको विघटन गरी नयाँ निर्वाचनको मिति तोकिएकामा आपत्ति समेत जनाएकी छिन् । महामारीका समयमा निर्वाचन सम्भव नभएको जनाउँदै यसले देशलाई अस्थिरता र द्वन्द्वमा लैजाने औल्याईन् ।