सुरेन्द्र, गोकर्ण र योगेश कता ?

नेकपा एमाले आजबाट विधिवत् रुपमा विभाजित हुने सम्भावना बलियो रहेको छ । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आजबाट माधव नेपाल समूहमाथि कारबाहीको डन्डा चलाउने भएका छन् ।

पहिलो लटमा माधव नेपालसहित २० भन्दा बढी केन्द्रीय नेता तथा निवर्तमान सांसद कारबाहीमा पर्दैछन् । जसमा नेपाल समूहबाट नवौं महाधिवेशनमा निर्वाचित उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिव भीम आचार्यलगायत पर्दैछन् ।

माधव नेपालका लागि राजीनामाका लागि हस्ताक्षर समेत गरेका विरोध खतिवडा, यज्ञराज सुनुवार, पवित्रा निरौलालगायत पनि कारबाहीमा पर्दैछन् ।

तर, लामो समय नेपाल समूहमा लागेका केही हस्तीहरु आज कारबाहीको सूचीमा नपर्ने बुझिएको छ । जसमध्ये नेपाल समूहबाट नवौं महाधिवेशनमा महासचिवमा पराजित सुरेन्द्र पाण्डे पनि छन् । उनी पछिल्लो समय नेपालबाट टाढिएका छन् । उनी मध्यमार्गीका रुपमा प्रस्तुत भइरहेका छन् ।

गोकर्ण बिष्ट र योगेश भट्टराई पनि कारबाहीको सूचीमा छैनन् । दुवै नेपाल समूहबाट नवौं महाधिवेशनमा निर्वाचित पदाधिकारी हुन् । बिष्ट र भट्टराईले नेपाल समूह छाडिसकेका छन् । कुनैबेला भट्टराई नेपालको समूहमा सशक्त रुपमा लागेका थिए । बिष्ट लामो समय नेपालका विश्वासपात्र बनेका थिए ।

सुरेन्द्र पाण्डे नेपाल समूहमा फर्कने सम्भावना बलियो छ । उनले हिजो पनि नयाँ बानेश्वरमा नेपाललाई भेटेका थिए । गोकर्ण बिष्टले नेपाललाई त्यागेको घोषणा मात्र गरेका छैनन् । तर, ओली समूहमा टिक्न कठिन हुने भएकाले उनी पनि फर्कन सक्छन् । योगेश भट्टराईले भने ओलीको समूहमा लागेको घोषणा गरिसकेका छन् ।