लहलहैमा ब’न्दुक समाएँ, माओवादी ‘ल’डाकु’ थिएँ भन्दा नि लाज लाग्छ

  • पुनम बिसि 

भूमिगत हुने सल्लाह गरेर विद्यालयबाट भाग्दा झमक्कै साँझ परिसकेको थियो। सँगै पढ्ने काकाको छोरी मेनुका बिष्ट र म विद्यालयबाट घर नगई सिधै माओवादी दाजुदिदीसँग बाटो लाग्यौं।

हामीलाई सुरुमा त्यहीँ गाउँकै एउटा घरमा राखियो। त्यहाँ केही महिला–पुरुष खाना पकाइरहेका थिए–गाउँको भत्तेरको झल्को आउने गरी।

राति २–३ सयजना खाना खान आए। निकै पानी परिरहेको थियो। हामीले पनि मेसमै खाना खायौं। खाना खाएपछि राति हामीलाई फेरि विद्यालयको बाटो हुँदै टाढाको गाउँमा लगियो।

हामी केटाकेटी नै थियौं। कहिल्यै घर नछोडेका। पहिलो दिन त निक्कै सकस भयो। भित्रभित्रै डर लागेको थियो।

जब राति हिँडाइयो, तब किन पो आयौंजस्तो लाग्यो। कतै बाटामै मरिन्छ कि भन्ने त्रास मनमा चलिरह्यो।

कतै घरका मान्छे खोज्न आउने हुन् कि पुलिसले भेटायौं भने पक्कै बाँकी नराख्ला, यस्तैयस्तै कुरा मनमा खेलिरहे। कताकता रुन मन पनि लाग्यो।

केही माओवादीका कमान्डरले तिमीहरू सानै छौं, जान सक्दैनौं भने। घर फर्कन्छौं भन्दा त म झनै भक्कानिएँ–अब कुन मुख लिएर घर जानु।

गाउँमा तारा त भूमिगत भइरे भन्ने सनसनी फैलिसकेको थियो। कमान्डरले जताजता संकेत गरे, उत्तैउत्तै लाग्यौं, यसबाहेक अरु विकल्प नै देखेनौं त्यसबेला।

अहिले पनि सम्झिन्छु–बादल मडारिएको त्यो कालो रात। म सानी मान्छे अलिकति डर, त्रास र संशय थियो। मेरा लागि अनिश्चित भविष्यको यात्रा थियो त्यो।

म माओवादी गएको गाउँभरि हल्ला भएछ। नजिकैको दाजुले मेरो घरमा गएर यो खबर सुनाइ दिनुभएछ। घरमा रुवाबासी चल्यो रे!

‘जसरी भए पनि तारालाई ल्याउनुपर्छ, त्यसलाई आर्मीले कता मार्छन्,’ आमा निक्कै बेर रुनु भएछ।

पछि मैले थाहा पाएँ कि रुँदारुँदै आमाको गलै अवरुद्घ भएको थियो रे!

‘अब आर्मीले समेत थाहा पाइसके, उसलाई घरमा ल्याउँदा झनै ज्यान जोखिममो पर्छ,’ वरपरका मानिसले सम्झाएपछि तीन दिनपछि आमाले खाना खान सुरु गर्नु भएछ।

एक महिनापछि म घर गएँ। घरमा रुवाबासी चल्यो। आमाले अब माओवादीमा नजा भनेर कोठामा थुन्नुभयो।

आर्मीको हेलिकोप्टर ओहोरदोहोर गरिरहेका थिए। जे भने पनि डर त लागि हाल्छ नि! म माओवादीमा गएको सबैलाई थाहा थियो। ‘अब घरमा बसे, आर्मी आएर मारिदिन्छन्,’ सँगै आएका माओवादी साथीहरूले सम्झाएपछि मात्र आमाले घरबाट जान दिनुभयो।
००० ०००

पाँचथरको साविक ओयाम गाविस–४, बारेबममा २०४५ साल मंसिर १० गते बुबा खडानन्द पौडेल र आमा टीकाको कान्छी छोरीका रूपमा मेरो जन्म भएको हो। तीन दाजु र तीन दिदीपछिको सातौं सन्तान हुँ म।

बाल्यकालमा मैले कुनै अभाव झेल्नु परेन। घरकी कान्छी भएर पनि होला, बाल्यकालमा पुलपुलिएर हुर्कने वातावरण पाएँ।

सानो छँदाका सबै कुरा त मलाई त्यति याद छैन। तर,सम्झना भएसम्म घरपरिवारले मलाई केही कमी महसुस हुन दिएन।

घरनजिकै बोर्डिड स्कुलमा एक कक्षा पढेँ। बोर्डिङ बन्द भएपछि कक्षा ५ सम्म गाउँकै प्राथमिक स्कुलमा पढेँ।

कक्षा ५ पछि निमावि पढ्न दुई घन्टा पैदल हिँडेर जानुपथ्र्याे। हरेक दिन हामी बिहान ८ बजे नै घरबाट निस्किन्थौं। स्कुलमा पढाइका साथै खेल्न, नाच्न र गाउन अत्यधिक मन पथ्र्यो।

तत्कालीन माओवादी हाम्रै स्कुलनजिकै तालिम गर्थे। हामी निक्कै चासो दिएर हेथ्र्यौं। छुट्टिपछि उनीहरूसँगै बस्थ्यौं पनि। माओवादी कलाकार हाम्रै विद्यालयअघि आएर नाच्दा/गाउँदा रहर लाग्यो।

सँगै पढ्ने गाउँकी मनकुमारी बिष्ट दिदी (डीना) ले पार्टीमा जाऊँ भनी हौसला दिनुभयो। उहाँ चिटिक्क परेर कलाकारसँग हिँडेको देख्दा रमाइलो लाग्थ्यो।

माओवादीमा लाग्नेहरूको टाँट देखेर मलाई नि एकदमै रहर लाग्यो। माओवादीमा गएपछि खेल्न, तालिम गर्न अनि कलाकार भएर नाचगान गर्न पाइन्छ भन्ने सुनेँ।

कपाल काटेर मन लागेको ठाउँमा हिँड्न पाउँदा रमाइलो हुन्छ भन्ठानेर म उनीहरूसँग् भावनात्मक रूपले नजिक भएँ। माओवादी कलाकारसँग गफिँदा–गफिँदै उनीहरूसँग जाने भनेर भनिहालेँ।

‘खुसीसाथ आउने भए आए भइहाल्यो नि!’

लहलहैमा २०५८ साल भदौ २६ गते स्कुल छुट्टी भएपछि विद्यालयबाट घर फर्कदै गर्दा हामी भाग्यौं। केटाकेटी बेलैमा रहरैरहरमा भूमिगत भयौं। त्यस बेला म १४ वर्षकी मात्र थिएँ।

गाउँ नै विस्थापित

भूमिगत भएपछि जतिखेर नि आर्मीको डर हुन्थ्यो। मन लागे पनि घर जाने वातावरण हुन्नथ्यो।

आफ्नो अवस्थाबारे जानकारी दिन बेलाबेलामा घरमा चिठी पढाउँथेँ।

एक दिन म अलिबेर एक्लै बसेँ। घरपरिवार अनि आमाको यादले निकै सतायो। सधैँ लाग्ने आर्मीको डर पनि लागेन।

कमान्डरले घर नजान भने।

‘घर भेट्न जान नपाउने नि हुन्छ’ मनमनै झोक चल्यो।

कमान्डरको कुरै नसुनी आफूखुसी ताप्लेजुङबाट एउटा साथी घर हिँड्यौं। बिहान ३ बजे हिँडेर ४ बजे नै म पाँचथर, बारेबमस्थित घर पुगेकी थिएँ। अहो! कति द्रूत चलेछन् पाइला त्यसबेला।

गाउँ पुग्दा अचम्मलाग्दो दृश्य देखेँ। त्यहाँ सबै घर भत्काइएका थिए। त्यहाँ मानिसको चालचुल थिएन। गाईवस्तु पनि थिएनन्।

भित्रभित्रै लाग्यो–पक्कै पुलिस–आर्मीको डरले सबै गाउँले विस्थापित भएको हुनुपर्छ।

माओवादी नारा

साथीहरूको लहलहैमा माओवादी भएकी मलाई त्यसबेलाका नारा कस्ता थिए भन्ने याद छैन। तर, जतिखेर नि हामीलाई माक्र्सवाद, लेनिनवाद, साम्यवाद र समाजवादका किताब पढ्न दिन्थे।

कमान्डरले हामी जनताको मुक्तिका लागि लड्ने हो भन्थे। यो सुन्दा आस जाग्थ्यो–भोलि हामी पक्कै ठूला मान्छे हुन्छौं।

‘माओवादीले जित्यो भने काठमाडौं बस्न पाउँछु। आमाबबालाई काठमाडौंमै राख्छु। ताराले आमाबुबालाई कस्तो व्यवस्था गरी है भन्ने गाउँमा नाम चल्छ,’ फुर्सदका बेला यस्तै कुरा आउँथे मनमा।

अधिकांश समय नाचगान र दौडधुपमै बित्ने गथ्र्यो।

बन्दुकको विश्वास

भूमिगत हुनेबित्तिकै मलाई सैन्य फाँटमा हालिसकेका रहेछन्। उमेर सानो भए पनि मेरो ज्यान अग्लो थियो। भूमिगत भएको एक महिनामै मलाई जनमिलिसिया (माओवादीको सानो सैन्य फाँट) मा राखेका रहेछन्।

पछि सिधैं कम्ब्याट ड्रेस लगाएर बन्दुक बोक्न लगाएपछि सेना भएछु भन्ने थाहा पाएँ। भूमिगत भएको तीनमहिनामै मैले १० जना टिमको सदस्य भएर भरुवा बन्दुक बोकेँ।

छोटो समयमै बन्दुक पाउँदा पार्टीले कति छिटो विश्वास गर्‍यो भनेर खुसी लाग्यो।

हातमा बन्दुक परेको त्यस्तै दुई साताजति भएको थियो। बन्दुक पड्काउन भन्दै राति कमान्डरले जंगलतिर लगे। जीवनमै पहिलोपटक म बन्दुक पड्काउन तयार भएँ। बन्दुक समाउँदा सुरुमा त भित्री डर लागेको थियो, तर कसैलाई भनिनँ।

विभिन्न क्षेत्रमा जाँदा तत्कालीन सेना र प्रहरीसँग दोहोरो भिडन्त हुनु सामान्य थियो। तत्कालीन शाही नेपाली सेनासँगको पहिलो मुठभेड संखुवासभाको गुफापोखरीमा भयो।

तलतिरबाट आर्मी आएको रहेछ। हामी माथिबाट हिँडिरहेका थियौं। हामीबीच दोहोरो हेराहेर भयो, तर भिडन्त भने भएन।

भूमिगत भएको एक वर्षपछि पहिलोपटक नेपाली सेनासँगको पहिलो भेट थियो। लडाइँको पहिलो अनुभव भने २०६० साल मोरङको बेलबारी चौकी हान्दा हो।

त्यो योजनामा ताप्लेजुङबाट केही निश्चित व्यक्तिलाई पठाइएको थियो। माओवादीका तर्फबाट राति ९ बजे फायर खोलियो।

त्यो लडाइँमा मलाई बैंक लुट्ने समूहमा राखिएको थियो। अरु साथीहरू लडाइँ लडिरहेका थिए। हामीहरू बैंकको मूल ढोका फोडेर नगद राखिएको ठाउँनजिक पुगेका थियौं।

नगद निकाल्न मात्र के लागेका थियौं, त्यत्तिखेरै नेपाली सेनाले चारैतर्फ घेरिसकेको रहेछ। नेपाली सेनाले निकै ठूलो संख्यामा फायर गर्‍यो।

तत्कालीन स्थिति हेरेर कमान्डरले हामी (माओवादी सेना) कमजोर भएको महसुस गर्नु भएछ। लगत्तै हामीलाई सुरक्षित स्थानमा भाग्ने निर्देशन आयो।

हामी बैंक छाडेर भाग्यौं। यसरी जिम्मा दिएको बैंक लुट्न पनि सकिएन। चौकी पनि कब्जा गर्न सकिएन। लडाइँमा हामी (माओवादी) तर्फ पाँचजनाको मृत्यु भयो।

रम्बापुर लडाइँ

हिमाल र पहाडभन्दा तराईका प्रहरी चौकीमा आक्रमण गर्न निकै गाह्रो हुने निचोड समग्र माओवादी आन्दोलनकै हो।

तराईका लडाइँ पूर्ण रूपमा सफल नभए पनि त्यतिन्जेल असफलै पनि भएका थिएनन्। माओवादी लडाकु भएका बेला सबैभन्दा दुःखद लडाइँको अनुभव बर्दियाको भुरिगाउँको रम्बापुर आक्रमण हो।

हामी प्रहरी चौकी हान्ने योजनामा झन्डै चार हजार हाराहारीमा माओवादी लडाकु रम्बापुरमा जम्मा भएका थियौं। हाम्रो पूर्ववत योजनाअनुसार आ–आफ्नो इलाकामा तैनाथ हुँदै थियौं। त्यो सूचना नेपाली सेनाले पाएछ।

सेनाले भारतीय बाटो भएर रम्बापुरलाई चारैतिरबाट घेरिसकेको रहेछ। त्यो खबर हाम्रोतर्फ (माओवादी)को सेनाले पनि पायो।

दुवैपक्षबीच दिउँसै ठूलो लडाइँ भयो। लडाइँमा नेपाली सेनाको घेरामा परेर हाम्रा कमान्डरकै मृत्यु भयो। उहाँलगायत अन्य ३० जना माओवादीले घटनामा ज्यान गुमाए, जुन माओवादी आन्दोलनकै ठूलो क्षति थियो।

हामी कमान्डरको संकेतमा सुरक्षित क्षेत्रतर्फ भाग्न सफल भयौं। धन्न ज्यान जोगियो।

जितेर मन पिल्सिएको पिलु घटना

माओवादी सेनाको पूर्व–पश्चिम अभियान नै चलेको थियो। निकै ठूलो अभियान भएकाले विभिन्न चौकी कब्जा गर्ने योजना सँगसँगै कार्यान्वयन हुँदै थियो।

रम्बापुरको लडाइँमा क्षति व्यहोरेको माओवादी सेनाले बर्दियाबाट कालीकोटको पिली प्रहरी चौकी आक्रमण गर्ने योजना बनाइसकेको थियो।

रातभर लडाइँ लडेर सफल भएको पिलीमै मैले निकै छर्रा खाएँ । झन्डै ६० वटा स्थानमा लडाइँ लड्दा केही भएको थिएन तर, पिली लडाइँमा सेनाले हानेको गोली देब्रे हातमा लाग्यो।

चारवटा छर्रा लागेर मेरो शरीरै शिथिल भयो। साथीहरूले मलाई बोकेर मेडिकल क्याम्पमा लैजानु भएछ। पिलीको स्कुलमा मेडिकल क्याम्प थियो।

त्यहाँ प्राथमिक उपचारपछि म फेरि लडाइँमा होमिएँ। सबैतिर बम र बारुद पड्किएको अवस्थामा म घाइते भएर बस्न सकिनँ।

लडाइँमा सुःख र दुःख बराबरै हुँदो रहेछ भन्ने मलाई लाग्छ। लडाइँ जितेको पिलीमा पनि त्यस्तै भयो ।

युद्घमा फक्रिएको प्रेम

युद्घका बेला पार्टीभित्र प्रेम र विवाह गर्ने भन्ने केही थिएन। माओवादी सेनाको ध्यान मार्ने र मर्नेबाहेक अरु केही हुँदैनथ्यो। दिउँसो सुत्ने र राति लडाइँ लड्ने वा हिँड्ने हाम्रो दैनिकी थियो।

पार्टीकै अभियानअनुसार हामी २०६० सालतिर पूर्व–पश्चिमको समायोजनमा पूर्वबाट पश्चिमतिर १ सय ६० जना आएका थियौं। पश्चिम जाने भनेपछि म निकै खुसी भएँ।

सायद कर्मथलो यतै हुन लेखेको रहेछजस्तो लाग्छ, अहिले।

हाम्रो टिम संखुवासभाको नुनडाँगीबाट ६० दिन लगाएर जाजरकोट पुग्यो। अभियान सकेर केही साथीहरू पूर्वतिरै फर्कनुभयो। म चाहिँ यतै बसेँ।

बृहत् शान्ति सम्झौतापछि म एकपटक घर गएँ। घरबाट फर्किएपछि २०६३/६४ सालसम्म म यतै बसेँ।

सुर्खेतस्थित शिविरमा २०६५ सालमा मेरो र उहाँ (श्रीमान्) बीच प्रेम सुरु भयो। हाम्रो पहिलो भेट सुर्खेतबजारमै भयो।

उहाँको पहिलो विवाह भइसकेको थियो। उहाँको पहिलो श्रीमती पनि माओवादीमै नै हुनुहुँदो रहेछ। हामी सँगै बस्ने, सँगै खाने गर्दा प्रेम सम्बन्ध विवाहमा परिणत भएको हो।

हाम्रो सम्बन्ध थाहा पाएर साथीहरूले कुरा चलाए। पछि उहाँले नै प्रेम प्रस्ताव राख्नुभयो। मैले पनि नाइँ भन्न सकिनँ।

पार्टीको नियमअनुसार कमाण्डरलाई जानकारी गरायौं। पहिलो श्रीमती सम्पर्कमा नआएपछि त्यसको एक वर्षपछि पार्टीको सहमतिमै हाम्रो बिहे भयो।

माओवादी लडाकु भन्नै लाज लाग्छ।

युद्धकालका नारा, पार्टीका योजना सम्झिने हो भने अहिले सिन्कोसमेत भाँचिएको छैन भन्ने लाग्छ।

दस वर्ष लडेका जनसेनालाई पार्टीको नेतृत्वमा बनेको सरकारले समायोजना गर्न सकेन। अहिले माओवादीको लडाकु थिएँ भन्न नि लाज लाग्छ।

समायोजना प्रक्रिया राम्रोसँग भएन। लडाकुको योग्यता र क्षमताअनुसार काम दिनुपथ्र्यो, त्यो भएन।

लामो समय लडेका लडाकुलाई पेन्सनको व्यवस्था गरिदिनुपथ्र्यो। पार्टी र पार्टीका नेताहरूले युद्धका बेला लगाएका नारा र त्यसबेला दिएका आश्वासन भुल्दै गएका छन् जस्तो लाग्छ।

फ्रेस हाउसमा व्यस्त

केही वर्षपहिले पुख्र्यौली जमिनमा खेतीपाती गथ्र्यौं। त्यतिको आम्दानीले छोराछोरीको स्कुल शुल्क, चारजनाको परिवार पाल्न समस्या भयो।

त्यसपछि अहिले सानो फ्रेस हाउस चलाएर बसेका छौं। बिहान/बेलुका सबैजना फ्रेस हाउसमै समय दिन्छौं।

दिउँसो श्रीमान् घरनजिकैको माविमा काम गर्नुहुन्छ। दुईतिरको कमाइले बच्चा पढाउन र परिवार पाल्न केही सजिलो भएको छ। (नेपालन्युज)