कोरोना संक्रमितको टाउकोको शल्यक्रिया

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालको अप्रेसन थिएटरमा एक कोरोना संक्रमित पुरुषको टाउकोको जटिल शल्यक्रिया गरिएको छ ।

टाउको दुख्ने, रिँगटा चल्ने र उल्टी पनि बारम्बार हुन थालेपछि धरानका ५७ वर्षीय एक पुरुषले आफूलाई कोरोना संक्रमण भएको आशंका गर्दै प्रतिष्ठानमा उपचारका लागि गत मंगलबार भर्ना भएका थिए । भर्ना भएलगत्तै उनको बायाँ हात र खुट्टा पनि चल्न छाडेको र बोली लर्बराउन थालेपछि चिकित्सकहरूले थप परीक्षण गर्दा टाउकोमा रगत जमेको पत्ता लागेको थियो ।

त्यसपछि तत्काल शल्यक्रिया गरिएको थियो । बिरामी पुरुषको करिब दुई साताअघि बाटोमा लडेर टाउको ठोक्किए पनि कतै चोटपटक नलागेपछि घरैमा बसेका थिए । तर एक सातापछि टाउको दुख्ने, रिँगटा चल्ने र उल्टी हुन थालेपछि तत्काल शल्यक्रिया नगरे मृत्यु हुन सक्ने भएकाले शल्यक्रिया गरेको प्रतिष्ठानका न्युरो सर्जन डा. आलोक दाहालले बताए ।

कोभिड अस्पतालको अप्रेसन थिएटरमा टाउकोको हड्डी फोरेर उनको टाउकोको दिमाग र हड्डीको बीचमा फैलिएको रगत हटाउन करिब २ घण्टा समय लागेको डा. दाहालले बताए ।