ओली भन्छन् : ‘मेरै नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन् । बालुवाटारमा आइतबार आफूनिकट पत्रकारहरूसँग उनले संविधानबमोजिम आफ्नो नेतृत्वमा सरकार बनाएर चुनावमा जान तयार रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री भइसकेका चार जनाको अतृप्त चाहना र अगश्त्य महत्त्वाकांक्षाले मुलुक बिग्रिँदै टिप्पणी गरे । ‘आफूलाई प्रजातन्त्रवादी भन्ने पार्टी पनि अहिले प्रचण्डपथ अंगिकार गरेर कुदेजस्तो लाग्छ । कब्जाको बाटोमा ।

सरकार चलाउन पनि नदिने, काम गर्न नदिने, सधैं वितण्डा खडा गर्ने, कुप्रचार, असभ्य प्रचार गर्ने, जनतामा भ्रम फिँजाउन खोज्ने प्रयास हुँदै आए र गतवर्षदेखि यो अत्यन्तै तीव्र भयो । मलाई ताज्जुब लाग्छ,’ ओलीले भने ।

कांग्रेस सचेतक पुष्पा भुसालले ओलीको नेतृत्वमा हुने चुनावमा भाग नलिने बताएको प्रसंग जोड्दै ओलीले कांग्रेसको बोली सुनेर आफूलाई आश्चर्य लागेको बताए । ‘उहाँले केपी ओलीले गराएको चुनावमा भाग लिदैनौं भन्नुभयो । केपी ओलीले गरेको चुनावमा भाग नलिने हो भने कसले गरेको चुनावमा भाग लिने ? भाग लिन नेपाली कांग्रेसले प्रधानमन्त्री टिको लगाइदिने कि ?’

ओलीले भने, ‘अहिलेको प्रधानमन्त्री देशमा धेरै पपुलर भोट भएको, दुई पार्टी मिल्दा पनि प्रतिनिधिसभामा एक्लो ठूलो पार्टीको नेतृत्वको चुनावमा नजाने । कुन डेमोक्रेसीको परिभाषाभित्र पर्छ यो ? नेपाली कांग्रेसको बोली सुनेर मलाई आश्चर्य लागेको छ ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई गुरु थापेर प्रचण्डपथमा कांग्रेस हिँडेको आरोप उनको थियो । ‘कांग्रेस अहिले उत्तेजना र आवेशमा प्रचण्डलाई गुरु थापेर प्रचण्डपथमा छ,’ उनले भने, ‘आफूले चुनाव गराउनुपर्ने ? आफैंले गरेको चुनावमा उहाँहरू २३ सिटमा झरेको हैन ?

म सबैलाई आग्रह गर्छु, आवेश उत्तेजनाको राजनीति नगरौं ।’ संसदीय व्यवस्थामा संसदीय दल नै ठूलो हुने भएकाले नेताहरूले प्रधानमन्त्री बनाउन एक्लाएक्लै गरेको हस्ताक्षरको अर्थ नहुने उनले दाबी गरे ।

‘यो दलीय अनुशासन छाडेर व्यक्तिगत नाच नाच्ने व्यवस्था होइन,’ उनले भने, ‘पर्सनल डान्सको कुनै अर्थ छैन । अनुशासित र मर्यादित लोकतान्त्रिक व्यवस्था हो ।’ उनले प्रतिनिधिसभा जोगाउन सकियोस् भनेरै जसपाको समर्थनमा आफू प्रधानमन्त्रीको दाबी गर्न गएको भए पनि विपक्षी गठबन्धनले ‘कन्फ्युजन’ पैदा गराएकाले राष्ट्रपतिले सरकार बन्न नसक्ने निर्णय गरेको बताए ।