तल्लो तहसम्मै सहकार्य गर्ने विपक्षी गठबन्धनको तयारी

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संविधान विरोधी कार्य’ गरेको प्रष्ट्याउन विपक्षी दलहरुले तल्लो तहसम्म गठबन्धन बनाउने तयारी गरेका छन्।

प्रतिनिधि सभा विघटनविरुद्ध उभिएका नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी (उपेन्द्र पक्ष) र जनमोर्चा नेपालबीच तल्लो तहसम्मै सहकार्य गर्ने सैद्धान्तिक सहमति बनेको छ। प्रतिनिधि सभा विघटनविरुद्ध रिट दायर गर्न लागेका विपक्षी दलले ओलीको कदम विरुद्ध संयुक्त प्रतिकार गर्ने भएका हुन्।

केन्द्रको गठबन्धनकै रुपमा नभए पनि तल्लो तहमा सहकार्य गरेर प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध संयुक्त रुपमा अघि बढ्ने सहमति दलहरुबीच बनेको छ। ‘विरोधका कार्यक्रम संयुक्त रुपमा जिल्ला/जिल्ला तहमा गर्ने, संयुक्त वक्तव्य निकाल्ने, प्रतिकात्मक विरोध गरिराख्ने भन्ने हो’, कांग्रेस नेता गगन थापाले भने,‘प्रतिनिधि सभा विघटनविरुद्ध प्रतिरोधको लागि सहकार्य हुन्छ।’
संसद विघटनविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट दायर गर्नका लागि समयाभाव नै प्रमुख कारण रहेको दलहरुले जनाएका छन्।

रिटको ड्राफ्ट तयार गरी मस्यौदालाई अन्तिम रुप दिनका लागि वरिष्ठ अधिवक्ता र संवैधानिक कानुनका जानकारलाई देखाउने र उनीहरुको सुझावअनुसार रिटमा उल्लेख गरिएका विषयहरु थपघट गर्ने तयारी अनुसार नै आइतबार समय नपुगेका दलका नेताले जानकारी दिएका छन् । रिट दर्ता गर्ने क्रममा एमालेका केही सांसदको संख्या घटबढ हुनसक्ने देखिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको आह्वान गर्दा १४९ जना सांसदको हस्ताक्षरसहित कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । सर्वोच्च अदालतमा रिट दायर गर्दा पनि देउवाको पक्षमा हस्ताक्षर गरेका सबै सांसदको हस्ताक्षर समावेश गर्ने भनिएको छ। तर, रिट दायर गर्दा १४९ जनाको संख्याबाट केही तलमाथि हुनसक्ने नेताहरुको भनाइ छ।