राष्ट्रपतिकोमाथि कसैको उजुरी लाग्दैन : प्रधानमन्त्री ओली

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको अधिकारबारे उजुरी गर्न नसकिने बताउनुभएको छ । आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिको आधार ठहर गर्ने राष्ट्रपतिको अधिकारबारे कहीँ पनि उजुरी गर्न नसकिने उहाँले बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘संविधानमा राष्ट्रपतिको स्वविवेकीय अधिकार प्रयोग गर्ने यो मात्रै ठाउँ हो । यसविरुद्ध कहीँ उजुरी लाग्दैन, कहीँ हेरफेर गर्न मिल्दैन ।’ संविधानको धारा ७६ (५) का अनुसार प्रधानमन्त्री नियुक्ति राष्ट्रपतिको स्वविवेकीय अधिकार रहेको उहाँको भनाइ रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि दिनुभएको समयसीमाभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पक्षमा १४९ सांसद र प्रधानमन्त्री ओलीले नेकपा एमालेको पक्षमा १२१ र जनता समाजवादी पार्टीको ३२ जना गरी १५३ सांसदको समर्थन रहेको दावी पेश गर्नुभएको थियो ।

तर राष्ट्रपतिले दुवैको आधार नपुगेको भन्दै संसद विघटन गर्नुभएको थियो । त्यसपछि राष्ट्रपतिको कदमविरुद्ध चौतर्फी विरोध भइरहेको छ । चौतर्फी विरोध भइरहँदा प्रधानमन्त्री ओलीले राष्ट्रपतिको अधिकार नमान्ने, पद, प्रतिष्ठा र मर्यादा नमान्ने प्रवृत्ति देखिएको भन्दै बचाउ गर्नुभएको छ ।