बालाजुको स्यानीटाइजर कम्पनीमा प्रहरीको छापा

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बालाजु औधोगिक क्षेत्रभित्र रहेको एक स्यानीटाइजर उत्पादन गर्ने कम्पनीमा छापा मारेको छ ।

ब्राण्डको नाम पनि नराखी ठूलो परिणाममा स्यानीटाइजर बजार पठाएको भेटिएपछि महाशाखाले उक्त कम्पनीको स्यानीटाइजरको गुणस्तर बुझ्न औषधि व्यवस्था विभागको ल्याबमा परीक्षण गराएको थियो ।

परीक्षणमा उक्त स्यानीटाइजरमा २५ प्रतिशत मेथानोल प्रयोग भेटियो । जबकी मेथानोल मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने रसायन हो । महामशाखाका एसएसपी चन्द्र कुँवेर खापुडका अनुसार प्रहरीले करिब ८ ट्रकभन्दा धेरै स्यानीटाइजर बरामद गरिसकेको छ । उनले भने, ‘कति परिणाममा छ भन्नेबारे हामीले गणना गरिरहेका छौं ।’

महाशाखा र प्रहरी परिसर काठमाडौंले उपत्यकाका विभिन्न स्थानमा यसैगरी नक्कली स्यानीटाइजर बनाएको भन्ने सूचनाको आधारमा अनुसन्धान जारी राखेको छ ।

एसएसपी खापुडका अनुसार बराद नक्कली स्यानीटाइजर काठमाडौं लगायत देशैभरि वितरण भएको देखिन्छ ।