पवित्र धार्मिक स्थल पशुपति क्षेत्रमै यस्तो धन्दा

काठमाडौं । कलकत्ताकी सीताकुमारी दास (१८) ले पशुपति मन्दिरबारे थोरै मात्र सुनेकी थिइन्। जब उनका प्रेमी राजु सिंहले यहाँको बारेमा उनलाई बताए, सीतालाई पशुपति कहिले जाउँ जस्तो भयो। एकदिन राजुले उनलाई भागेर पशुपति जाने योजना सुनाए। पहिले यो योजना सुनेर उनलाई डर लाग्यो। पछि उनलाई लाग्यो, अर्को बाटो छैन। किनकी घरपरिवारले उनको प्रेमलाई स्वीकार गरेको थिएन। सीता मन्जुर भइन्। तीन महिनाअघि उनी राजुसँगै पशुपति आइन्। सीताको लागि काठमाडौं नौलो थियो। उनी प्रेमीसँग केही दिन काठमाडौं घुमिन्। केही दिनको बसाइ रमाइलो भयो। तर यो रमाइलो धेरै टिक्न सकेन। काठामाडौं बसाइले अचानक अकल्पनीय मोड लियो। जुन सीताले सपनामा पनि सोचेकी थिइनन्।

एकदिन राजु सीतालाई छोडेर बेपत्ता भए। उनी एक्लै भइन। कलकत्तासम्म पुग्ने बाटो खर्च पनि उनीसँग भएन। म पशुपतिमा बसेर रोइरहें, मन्दिर वरिपरी घुम्थें तर राजु आएन, एकदिन बेलुकी पख म गौशाला नजिकै बसिरहेकी थिएँ। केही केटीहरु पुरुषसँग कुरा गरेपछि मोटरमा चढेको देखे, सीता भन्छिन्, अनि मलाई थाहा भो। यी केटीहरु पैसा यसरी कमाउँदा रहेछन्।

अनि वाध्याताले सीतालाई यही बाटोमा डोहोर्यायो। एकदिन पशुपति नजिकै सडकमा बसिरहेका बेला उनलाई एक भारतीयले जाउँ भनेपछि उनी तयार भइन्। त्यस दिनदेखि सीता देहव्यापारमा संग्लग्न छिन्। म बाध्यताले यस्तो काममा लागेकी हुँ, पैसा सकिएपछि धेरै ठाउँमा गएर काम मागेँ तर काम पाइनँ, उनी थप्छिन्, यो काममा लागेपछि पैसा आयो, केही पैसा जम्मासमेत गरेकी छु।यहाँ यौन व्यापार गर्ने यौनकर्मीले पशुपति क्षेत्रलाई भारतको मुम्बईस्थित चर्चित रेडलाइट एरिया कमाठीपुरा सँग जोड्ने गरेका छन्। काठमाडौंस्थित भारतीय यौनकर्मीका लागि चर्चित ठाउँ बनेको छ पशुपति क्षेत्र। अन्नपुर्णपोष्टका लागि आकास क्षेत्रीले लेखेको यो समाचार हामीले साभार गरेको हो ।