‘केपी ओलीसँग कसरी सकिन्छ मिल्न ? अब नयाँ पार्टी गठन गर्छौैं’

नेकपा एमालेको विवाद थप बढेको छ । एमालेको खनाल–नेपाल समूहले प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि विवाद झनै बढेको हो ।

एमालेका तर्फबाट हस्ताक्षर गरेका २६ मध्ये ११ सांसदलाई स्पष्टीकरणको पत्र पठाउँदैछ । हिजो बालुवाटारमा बसेको स्थायी कमिटी बैठकको निर्णय अनुसार आज पत्र पठाउने एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

रााष्ट्रिय सभा निर्वाचनमा एमालेको खनाल–नेपाल समूहले नेता रामबहादुर थापा बादलविरुद्ध मतदान गरेपछि वाग्मती प्रदेश संसदीय बोर्डले उक्त समूहका १४ प्रदेश सभा सदस्यलाई स्पष्टीकरण सोधेको छ ।

१४ सदस्यले आज स्पष्टीकरणको जवाफ दिने तयारी गरेको खनाल–नेपाल समूहकी स्थायी कमिटी सदस्य तथा वाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

उता, पार्टीको विवाद समाधानका लागि गठन भएको कार्यदलले पनि कुनै निष्कर्ष निकाल्न सकेको छैन । कार्यदलले निकास निकाल्ने अवस्था नआएको नेताहरुले बताएका छन् ।

एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधिको घोषणा गरेपछि खनाल–नेपाल समूह त्यसको विपक्षमा उभिएको छ ।

पार्टीमा विवाद समाधान हुने अवस्था नदेखिएको खनाल–नेपाल समूहका नेताहरु नयाँ पार्टी गठन गर्नुपर्ने बताउन थालेका छन् । नेतृ शाक्यले पनि अब नयाँ पार्टी गठन गर्नुपर्ने बेला आएको बताइन् ।

“विकल्प सोच्नुपर्छ । अब नयाँ पार्टी गठन गर्नुपर्छ । नयाँ परिस्थिति अनुसार कसरी जाने भन्ने छलफल हुनुपर्छ,” उनले भनिन् ।