तीन वर्षदेखि अलपत्र बानेश्वरको आकासे पुल निषेधाज्ञामा बन्दै

निषेधाज्ञाकै बीच काठमाडौंको बानेश्वरस्थित तीन वर्षदेखि अलपत्र आकासे पुल निर्माणको काम अघि बढेको छ । यसअघि निर्माण व्यवसायीले कोरोना महामारीले निर्माण गर्न नसकिएको बताइरहेका थिए । ठेक्का सम्झौता सकिएको डेढ वर्षपछि पुल निर्माणको काम अघि बढाएको सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ ।

सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले निषेधाज्ञाकै बीच आकासे पुल निर्माणको काम अघि बढाएको जानकारी दिए । उनका अनुसार निर्माण व्यवसायीले यसअघि पुलको जग र पिलर राख्नेलगायत निर्माणको काम गरेर अलपत्र पारेर छोडेका थिए ।

‘‘लामो समयदेखि रोकिएको आकासे पुलमा अहिले स्टिल ट्रस राख्ने काम भइरहेको छ । दोस्रो लहरको संक्रमणको बेलामा निर्माण व्यवसायीले पुल निर्माणको काम थालेको छ,” प्रमुख नेपालीले भने, ‘‘निषेधाज्ञाका कारणले काममा केही ढिलासुस्ति भयो ।

त्यस बाहेक हाम्रा केही प्राविधिक कारणले ढिलो भएको थियो । पुलको जग र पिलर राख्ने काम पहिल्यै भइसकेको थियो । डिजाइन परिवर्तन गरी पुलको निर्माण थाल्दा पनि थप निर्माणको काममा बाधा उत्पन्न भयो ।”

डिभिजन कार्यालयका अनुसार अहिले निर्माणाधीन आकासे पुलमाथि ट्रस फिटिङको काम भइरहेको छ । प्रमुख नेपालीका अनुसार जेठ महिनाभित्रै आकासे पुल तयार बनाउने गरि काम अगाडि बढिरहेको छ । ‘‘आकासे पुलको माथिल्लो भागमा स्वास्थ्य मापदण्ड अपनाएर निर्माणको काम भइरहेको छ,” प्रमुख नेपालीले भने, ‘‘निषेधाज्ञाकैबीच हामी निर्माण व्यवसायीसँग छलफल गरेका थियौँ ।

छलफलपछि निर्माण व्यवसायीले निषेधाज्ञाको समयमा पुल निर्माणको काम गर्न सहज हुने बताएपछि आकासे पुल निर्माण गर्न थालिएको छ । निषेधाज्ञाको समयमा सडकमा सवारी चाप हुँदैन ।


स्टिल ट्रस फिनिसिङ गर्दा सडक अवरोध हुन्छ । जुन काम सडकमा सवारी चाप भएकाबेलामा अप्ठेरो हुन्थ्यो र सवारी साधन प्रभावित हुन्थे । त्यसैले निषेधाज्ञामा सडकमा स्टिल ट्रस जोड्ने काम भइरहेको छ । स्टिल ट्रस जोडिसकेपछि पिलरमाथि फिनिसिङ गरिनेछ ।”

बानेश्वर चोकमा आकासे पुल निर्माणको लागि सडक डिभिजन कार्यालय काठमाडौं र प्राकृतिक रपवन जेभीबीच २०७५ चैत २५ गते ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता अनुसार दुई करोड चार लाख रुपैयाँ थियो । ठेक्का सम्झौता बमोजिम व्यस्त सडक बानेश्वरमा २०७६ पुस मसान्तसम्ममा आकासे पुल निर्माण भइसक्नुपर्ने थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौंका मुख्य सडकमा आकासे पुल नबन्दा दुर्घटनाहरु निम्तिएका थिए । महाशाखाका एसएसपी जनक भट्टराई बानेश्वरमा आकासे पुल नहुँदा पैदलयात्रुलाई बाटो काट्न असहज भएको बताउँछन् ।

एसएसपी भट्टराई भन्छन्, ‘‘यसले पैदलयात्रुलाई प्रत्यक्ष असर परिरहेको छ । बानेश्वर चोक अत्याधिक सवारी चाप हुने सडक मध्ये एक हो । अब पुल निर्माण भएपछि ट्राफिक व्यवस्थापन गर्न सहज हुनेछ ।”

साथै पैदलयात्रु, सवारी साधन पनि धेरै हदसम्म दुर्घटनाको जोखिमबाट जोगिने महाशाखाको भनाइ छ । डिभिजन कार्यालय काठमाडौंका अनुसार आकासे पुल जेठ महिनाभित्रै तयार हुँदैछ । उक्त आकासेपुलको लम्बाइ ३८ मिटर रहेको छ ।