शशांकले भने– ‘देउवाको नेतृत्वमा सरकार बन्नेमा हामी ढुक्क छौं’

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्नेमा आफूहरू ढुक्क रहेको बताएका छन् ।

देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर हस्ताक्षर गरेका बहुमत सांसद आफूहरूको पक्षमा अहिले पनि रहेको उनले दाबी गरे । कांग्रेस संसदीय दलको कार्यालय बाहिर पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री कोइरालाले एमालेले केही सांसदलाई कारवाही गरेपनि बहुमत सांसद आफूहरूको पक्षमा रहने उनले बताएका हुन् ।

‘प्रधानमन्त्री ओलीज्यूका कारण अदालतको ढोका ढक्ढक्याउन जानुपर्छ भन्ने लाग्यो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार हुन्छ भन्नेमा छौं,’ उनले भने । एमालेले माधव नेपाल पक्षका केही सांसदलाई कारवाही गरेपनि उनले आवश्यक बहुमत पुग्ने कोइरालाले जिकिर गरे ।

कांग्रेस र माओवादी केन्द्रका सांसदहरूले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हस्ताक्षरसहित नागरिकता संकलन गरिरहेका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी दलहरू रिट लिएर सर्वोच्च अदालत जाँदैछन् ।