‘अब नयाँ पार्टी दर्ता गर्ने निचोडमा पुग्यौं’ – नेता ज्ञवाली

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवं माधवकुमार नेपालनिकट नेता युवराज ज्ञवालीले एमाले एकीकरणको अथक प्रयास सफल नभएकाले आफूहरु नयाँ पार्टी दर्ता गर्ने निचोडमा पुगेको बताएका छन्। चाँडै यसबारे औपचारिक निर्णय हुनेसमेत उनले बताए।

‘हामीले एमालेमा रहेर जे जति संघर्ष गर्यौं, एमालेलाई एकतावद्ध राख्नुपर्छ भनेर अन्तिमसम्म जति पहल गर्यौं, त्यो संसद विघटन भएर मध्यावधितिर हाम्फाल्ने अवस्था रोक्न सकिन्छ कि भनेरै थियो’, ज्ञवालीले भने, ‘अब त्यही भइसकेपछि एकीकरणको पहलको अर्थ देखिएन। हामीले जति नै इमान्दारिपूर्वक पहल गरे पनि उहाँ (केपी ओली)ले हामीलाई अल्मल्याएर अर्को प्रतिगमन गर्ने दाउ मात्र हेरिरहनुभयो।’

एकीकरणका लागि आफूहरु अन्तिमसम्म प्रयासरत रहेको बताउँदै यनले ओलीले आफूहरुलाई अल्मल्याएर अर्को प्रतिगमन गर्ने र धोका दिने कार्य निरन्तर गरेको आरोप लगाए। ‘अब त समस्या समाधान होला भनेर कार्यदल बनाइयो, कार्यदल बनेपछि चिज सहज दिशातिर जानुपर्ने थियो,’ उनले भने, ‘तर, त्यसपछि त उहाँ झन् उल्टो दिशामा हिँड्न उद्यत हुनुभयो। हामी अब उल्टो बाटो हिँड्दैनौं।’

आफूहरु नयाँ पार्टी दर्ता गर्ने दिशामा अघि बढिसकेको उल्लेख गर्दै उनले भने, ‘अब अन्तिम निर्णय हुन बाँकी छ, त्यो पनि छिटै होला।’ ज्ञवालीले नयाँ गठन हुने पार्टीले कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने दाबी गरे। उनले भने, ‘हामी सम्भव भएजति कम्युनिष्ट पार्टीहरुलाई समेटेर कम्युनिष्ट आन्दोलनलाई नै एकीकृत गर्ने प्रयासमा लाग्नेछौं।’