डब्लुएचओले नेपालसहितका देशलाई थप अत्यावश्यक स्वास्थ्य सामग्री दिने

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपालसहित दक्षिण पूर्वी एसियाली क्षेत्रमा थप सहयोग सामग्री प्रदान गर्ने जनाएको छ।

आउँदा हप्तामा नेपाल, भुटान, माल्दिभ्स, श्रीलंकासहितका देशमा बढ्दो कोरोना भाइरसको संक्रमणसँग जुध्नका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाइने डब्लुएचओले जनाएको हो।

अत्यावश्यक स्वास्थ्य सामग्रीको आवश्यकता र वितरणबिच रहेको असमानतालाई सम्बोधन गर्ने गरि थप सहयोग गरिने डब्लुएचओकी दक्षिण–पूर्वी एसिया निर्देशक डा. पूनम क्षेत्रपाल सिंहले बताएकी हुन्।

उनले भनेकी छन्, ‘हजारौँ अक्सिजन कन्सनट्रेटर, परीक्षण किट, अस्पताल बेड, टेन्ट र पीपीई सहितका सामग्रीहरु पठाइएको छ।

पछिल्लो समय भारतमा धेरै सामग्री सहयोग गरियो। अब आवश्यकता र मागका आधारमा नेपाल, भुटान, श्रीलंका, बंगलादेशमा पनि थप सामग्री पठाइने छ।’